• २३ माघ २०८२, शुक्रबार

नेतृत्वले विकासको सपना देख्न सक्नुपर्छ : अध्यक्ष ओली

blog

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, माघ २२ गते। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि नेतृत्वले सपना देख्नुका साथै त्यसलाई साकार पार्ने स्पष्ट तयारी र दृढ कार्यान्वयन गर्ने प्रतिवद्धताको खाँचो रहेको बताउनुभएको छ ।  

पूर्व प्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्यकाल स्मरण गर्दै नाकाबन्दीका कारण देशभर खाना पकाउने ग्यासलगायत दैनिक प्रयोगका इन्धन अभाव भएको कठिन समयको उल्लेख गर्नुभयो ।  ‘त्यसबेला नेपाली जनताको मनोबल कमजोर नहोस् भन्ने उद्देश्यले हामी आफैँ ग्यास उत्खनन गर्छौँ पाइपमार्फत भान्सासम्म ग्यास पुर्‍याउँछौ भन्ने सपना अघि सारेका थियौँ’ अध्यक्ष ओलीले भन्नुभयो  ।

एउटा कार्यक्रममा धारणा राख्दै उहाँले आफू सरकारको नेतृत्वमा रहँदा दैलेखमा प्राकृतिक ग्यासको सम्भाव्यता अध्ययन गरी उत्खनन प्रक्रिया अघि बढाइएको स्मरण गराउँदै उहाँले त्यसकै परिणामस्वरूप गत वर्ष दैलेख क्षेत्रमा १ खर्ब १२ अर्ब घनमिटर मिथेन ग्यास रहेको पुष्टि भएको उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले नमुना परीक्षण सफल भएपछि गत मङ्सिरमै व्यावसायिक उत्पादनको योजनासहित काम अगाडि बढाइएको भए पनि भदौमै सरकारबाट बाहिरिनुपरेको दुःख व्यक्त गर्नुभयो । 

उक्त परियोजनाले निरन्तरता पाउन नसकेका कारण काम रोकिएको बताउनुभयो । फेरि सरकारमा आफू आएपछि आफ्नै उत्पादनको ग्यास प्रयोग गर्ने सपना पूरा गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘देशलाई उर्जामा  आत्मनिर्भर बनाउने हाम्रो सङ्कल्प अडिग छ ।’

उहाँले विकास सम्भव छ भन्ने विश्वास जगाउनु नेतृत्वको दायित्व भएको उल्लेख गर्दै राष्ट्रिय आवश्यकताका दीर्घकालीन परियोजनामा राजनीतिक स्थायित्व र निरन्तरता अपरिहार्य हुने धारणा राख्नुभयो ।