माधवप्रसाद बराल
माछापुच्छ्रे (कास्की), माघ २३ गते । पोखरामा बर्सेनि आयोजना हुँदै आएको आहा रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फुटबलमा तस्बिर प्रदर्शनी गरिएको छ । पोखराको महेन्द्रपुलस्थित फल्चामा गरिएको तस्बिर प्रदर्शनीको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) का महासचिव पुरुषोत्तम कट्टेले उद्घाटन गर्नुभएको हो । उहाँले तस्बिर प्रदर्शनीले आहारारा गोल्ड कपको इतिहासलाई स्मरण गराएको बताउनुभयो ।
नेपाल फोटो पत्रकार सङ्घ (एनपिजेए), कास्कीको आयोजना र सहारा क्लब पोखराको सहयोगमा फोटो प्रदर्शनी भएको हो । प्रदर्शनीमा आहारारा पोखरा गोल्ड कपको सुरुदेखिका अविस्मरणीय क्षणहरू समेटेरे फोटो प्रदर्शनी गरिएको नेपाल फोटो पत्रकार सङ्घ कास्कीका अध्यक्ष राम गुरुङले बताउनुभयो ।
आहाराराको २५ वर्षे इतिहास, सङ्घर्ष, उत्साह र गौरवलाई तस्बिरमार्फत् जनसमक्ष प्रस्तुत गरिएको हो । ५० भन्दा बढि फोटोमा फटबल मैदान भित्रका गोल, जित–हारका क्षण, खेलाडीको सङ्घर्ष, समर्थकको भावना तथा मैदान बाहिरको फुटबल संस्कृतिलाई प्रस्तुत गरिएको छ ।
नयाँ पुस्तालाई नेपाली फुटबलको इतिहाससँग जोड्नुका साथै पोखरालाई खेलकुद पर्यटनको केन्द्रका रूपमा प्रवर्धन गर्न प्रदर्शनीले सहयोग गर्ने सहारा क्बल पोखराका अध्यक्ष केशवबहादुर थापाले बताउनुभयो । पोखरा महानगरपालिका वडाध्यक्ष दीपेन्द्र मर्सानीले फोटोमा देखिने हरेक विषयवस्तु सत्य हुने भएकाले पत्रकातिरामा फोटोको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो ।
२०५८ सालमा क्याराभान कोल्ड कपबाट सुरु भएको प्रतियोगिता २५ वर्षमा आइपुगेको हो भने आहा रारा गोल्ड कपको २५ औँ संस्करण माघ २७ गतेबाट पोखरा रङ्गशालामा सुरु हुँदैछ । यो पटक ३ विदेशी, एडिभिजन क्लब, विभागीय, आयोजकसहित १२ टिमको सहभागिता रहनेछ । सहारा क्लबले पुरस्कार राशिलाई वृद्धि गरी विजेतालाई १४ लाख १ हजार पुर्याएकाे छ ।