चाँदनी आचार्य
घोडाघोडी (कैलाली), माघ २२ गते । नेकपा (एमाले) का उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश संयोजक लेखराज भट्टले अहिलेको लडाइ ध्वंस र निर्माण बिचको लडाइ भएको बताउँदै ध्वंस गर्नेलाई परास्त गर्नैपर्ने बताउनुभयो ।
प्रेस चौतारी नेपालको २८ औं स्थापना दिवसका अवसरमा धनगढीमा आयोजित कार्यक्रममा बोल्दै उपमहासचिव भट्टले निर्वाचनबाट नै स्थायीत्व र स्थिरता ल्याउनु पर्छ भन्नुभयो ।
जेन्जी आन्दोलनको नाममा पार्टीप्रति भएको प्रहारलाई चिर्न पनि सबै एक ढिक्का भएर लाग्नु पर्ने नेता भट्टको सुझाव थियो । उहाँले भन्नुभयो, “जेन्जी नयाँ शब्द भए पनि युवा जमात वा समुह हो, यसको नाममा हामीमाथि प्रहार भएको छ । ध्वंस गर्नेलाई परास्त गर्नै पर्छ । यो निर्वाचनबाट स्थायीत्व र स्थिरता ल्याउनु पर्छ ।”
नेता भट्टले सिंहदरवार, सर्वोच्च अदालतलगायत भवनमा आगजनी तोडफोडले भवन मात्र होईन संस्कृति, पुरातत्व, भावनामा चोट पुगेको बताउनुभयो ।
भदौ २३ गते विद्यार्थी, युवाहरुको मुद्दा भ्रष्टाचार, सुशासन र सामाजिक सन्जालको प्रतिवन्ध हटाउनुपर्ने माग राख्दै भएको शान्तिपूर्ण आन्दोलनलाई विध्वंसात्मक गर्नेहरुको छानविन गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ पार्टीहरु कुन दर्शन, कुन बिचार लिएर आएका छन् ? देश बनाउने विचार र नीति एमालेसँग छ ।”
प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समिति र कैलाली जिल्ला समितिको संयुक्त आयोजनामा धनगढीमा विहीबार आयेजित कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एवम् राष्ट्रिय सभा सदस्य लिला भण्डारीलगायत केन्द्रिय, प्रदेश र जिल्ला तहका नेताहरुको उपस्थिति थियो ।