• २३ माघ २०८२, शुक्रबार

निर्वाचनलाई स्वच्छ र विश्वसनीय बनाउन पर्यवेक्षकको भूमिका महत्त्वपूर्ण : आयुक्त ज.ब.रा.

blog

निर्वाचन आयुक्त सगुन शमशेर ज.ब.रा. ।

काठमाडाैँ, माघ २३ गते । निर्वाचन आयुक्त सगुन शमशेर ज.ब.रा. ले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन निर्वाचन पर्यवेक्षकहरूको भुमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।

शुक्रबार निर्वाचन आयोगमा आयोजित पर्यवेक्षकहरूको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले पर्यवेक्षणमा खटिने हरेक व्यक्तिले नेपालको संविधान, निर्वाचन कानुन र वर्तमान वस्तुस्थितिको बारेमा स्पष्ट जानकारी राख्नुपर्ने बताउनुभयो । 

विगतका निर्वाचनहरूमा राष्ट्रिय पर्यवेक्षण सङ्घ संस्थाहरूले निर्वाचनको विश्वसनीयता वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै उहाँले यस पटक पनि सोही अपेक्षा राखिएको उल्लेख गर्नुभयो । आयुक्त ज.ब.रा. ले निर्वाचन आयोगले हालै जारी गरेको निर्वाचन पर्यवेक्षण निर्देशिका र आचारसंहिताको पूर्ण पालना गर्न सचेत गराउनुभयो । 

उहाँले भन्नुभयो, ‘निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन पर्यवेक्षकहरूको भुमिका महत्त्वपूर्ण हुन्छ । यो निर्वाचनलाई सफल र पारदर्शि बनाउने पनि महत्त्वपूर्ण भुमिका तपाईंहरूको छ । पर्यवेक्षणमा खटिने हरेक पर्यवेक्षकले नेपालको संविधान बुझेको हुनुपर्छ, नेपालको कानुन बुझेको, निर्वाचन कानुन, निर्वाचनको समग्र वस्तुस्थिति पनि बुझेको हुनुपर्छ । त्यो बुझेको मान्छेले पर्यवेक्षण गर्न सहज हुन्छ । विगतमा सम्पन्न निर्वाचनहरुमा राष्ट्रिय पर्यवेक्षण संघ संस्थाहरूले पर्यवेक्षणमार्फत निर्वाचनको विश्वसनियता वृद्धि गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्न महत्त्वपूर्ण भुमिका निभाउनुभएको छ । आयोगले निर्वाचन पर्यवेक्षण निर्देशिका र आचारसंहिता निर्देशिका अहिले रिलिज गरिसकेको छ । त्यसमा जुन खटिन्छौँ, एउटा पर्यवेक्षक सङ्घ संस्थाले के गर्नुहुन्छ, के गर्नुहुँदैन ? भन्ने स्पष्ट लेखिएको छ । आचारसंहिता पर्यवेक्षकलाई पनि लाग्छ । तपाईंहरूको पनि आफ्नो सङ्घ संस्थाले अध्ययन गरेको होला । त्यसको अधिनमा रहेर पर्यवेक्षण गर्नुहोला ।’

उहाँले पर्यवेक्षकहरूलाई निर्वाचनका लागि महत्त्वपूर्ण सरोकारवाला र निर्वाचनका ‘आँखा’ को संज्ञा दिँदै एक दिने अभिमुखीकरण तालिमबाट सिकेका कुराहरूलाई व्यवहारमा उतार्न समेत आग्रह गर्नुभयो ।