गोरखापत्र अनलाइन
काठमाडौँ, माघ १९ गते । आदिवासी समुदायको परम्परागत ज्ञान, सीप र ऐतिहासिक संस्कृति विशाल छ । त्यसबारे यथोचित अनुसन्धान हुन नसकिरहेको बेला आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले अनुसन्धानमा युवालाई उत्प्रेरित गर्नेगरी तीन दिने ज्ञान सम्मेलन सुरु गर्दैछ ।
‘ज्ञानको आदान–प्रदान, धरोहरको संरक्षण, भविष्यको निर्माण’ नारासाथ सुरु हुन गइरहेको ज्ञान सम्मेलनमा नेपाल र भारतका गरी करिब ८१ अनुसन्धानकर्ताले कार्यपत्र प्रस्तुत गर्नुहुने छ । आदिवासीको परम्परागत ज्ञान, आदिवासीको रहनसहन, भाषा भेषभुषा, प्रथाजनित संस्कार र संस्कृति, आदिवासीको खाना, जडिबुटी, जीवन पद्धति, हस्तकला ज्ञान, धर्म संस्कृति, उपचार पद्धतिमा केन्द्रित भएर कार्यपत्र प्रस्तुत हुने प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले जानकारी दिनुभयो ।

प्रतिष्ठानले आज यहाँ पत्रकार सम्मेलन गरी ज्ञान सम्मेलनबारेमा जानकारी गराएको हो । आदिवासीको विषयमा केन्द्रित भएर यो पहिलो पटक औपचारिक सम्मेलन हुन लागेको हो । सम्मेलनको उदघाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुहुने उहाँले बताउनुभयो ।
प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा औपचारिक उदघाटन हुने सम्मेलनका लागि पाँच विभिन्न सेसनमा कार्यपत्रहरु प्रस्तुत हुने छन् । त्यसमा मिहीन ढङ्गले छलफल गरी आदिवासी ज्ञान, सीप, हस्तकला, आदिवासी जीवन पद्धति बारेमा निचोडमा पुगिने उपाध्यक्ष गुरुङले बताउनुभयो ।
प्रतिष्ठानका सदस्य सचिव ज्ञानेन्द्र पुनका अनुसार पहिलो दिन उदघाटन सत्र भएपछि पहिलो दिनबाटै प्रदर्शनी मार्गमा थारू, शेर्पा, थकाली, नेवारी र राई समुदायको खानाका परिकार प्रदर्शन गरिने छ । आदिवासी समुदायको जीवन्त स्वादको अनुभूति पाहुनाहरूलाई गराउने तयारी भएको उहाँको भनाइ छ । नेपाल र भारतका गरी सम्मेलनमा करिब ८०० जना सक्रिय सहभागी हुने सदस्य सचिव पुनले बताउनुभयो ।
सम्मेलनको दोस्रो दिन चार वटा विभिन्न शीर्षकमा प्यानल डिस्कसन गराइने छ । छलफलको मुख्य विषयमा स्वायत्तता, प्रथाजनित स्वशासन, सम्पदा संरक्षण र स्थानीय सरकार, सामाजिक विविधता, सङ्घीयता र समावेशी लोकतन्त्र, जेनजी पुस्ताको आन्दोलन र समसामयिक राजनीति, भूमि, प्राकृतिक स्रोत र खाद्य सम्प्रभुताका विषयमा प्यानल डिस्कसन केन्द्रित हुनेछ ।
प्यानल डिस्कसनमा अभियन्ताहरू बालकृष्ण माबुहाङ, चिरिबाबु महर्जन, तुलाराम गुरुङ, दुर्गा थारू, धनबहादुर पुन मगर, महेन्द्र गुरुङ, सुनिता डङ्गोलको सहभागिता हुने छ । त्यस्तै, अर्को सेसनमा मल्ल के सुन्दर, कैलाश राई, प्रा. कृष्ण खनाल, पदम सुन्दास, डा. सोहन शाहले भाग लिनु हुने छ ।
सोही अनुसार अर्को सेसनमा डा. सुचेता प्याकुरेल, सन्केन राई, दीपक थापा, प्रकृति ढकाल र युजन राजभण्डारीले छलफल गर्नुहुने छ । अर्को सेसनमा डा. जनक राई, झलक सुवेदी, डा. मन्दिप राई, डा. सबिन निलेखु, डा. सुजाता तामाङले प्यानल डिस्कसनमा भाग लिनुहुने सदस्य सचिव पुन मगरले जानकारी दिनुभयो ।
सम्मेलन अवधिभरि भोटे, छन्त्याल, मगर, गुरुङ, सुनुवार र तामाङ समुदायको सांस्कृतिक प्रस्तुति रहने उपाध्यक्ष गुरुङले बताउनुभयो । सम्मेलनको हरेक दिन आदिवासी जनजातिको अधिकार र पहिचानका लागि ज्यान कुर्वानी गर्नुहुने व्यक्तित्वहरूको योगदानमा आधारित भिडियो डकुमेन्ट्री प्रस्तुति हुने प्रतिष्ठानका पदाधिकारीहरूको भनाइ छ ।

डकुमेन्ट्रीमा शङ्खधर साख्वा, लखन थापा मगर, बाजहाङ आङबुहाङ, पासाङ ल्हामु शेर्पा, जङ्गवीर लामा, वंशु गुरुङ, रामप्रसाद राई, भूमि शेरचनको योगदान प्रस्तुत गरिने सदस्य सचिव पुन मगरले बताउनुभयो । प्रतिष्ठान स्थापनाको २५ वर्ष पुगेको अवसरमा रजत जयन्ती मनाउँदै प्रतिष्ठानले सोही अवसरमा यो आदिवासी ज्ञान सम्मेलन गर्न लागेको जनाएको छ । २०५८ माघ २५ गते प्रतिष्ठानको ऐनमा लालमोहर लागेको स्मरणमा सोही दिनदेखि ज्ञान सम्मेलन गर्न लागेको उपाध्यक्ष गुरुङको भनाइ छ ।
सो अवसरमा प्राडा. गणेश गुरुङले आदिवासी ज्ञान सम्मेलन आदिवासीको प्रथाजनित र परम्परागत ज्ञान, सीप, जीवनपद्धतिको उत्खनन् र युवा पुस्तामा आदिवासीको ज्ञान दस्तावेजीकरण र पुस्तान्तरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।