नेपालगन्ज समाचारदाता
नेपालगन्ज, माघ २२ गते । इस्लाम धर्मावलम्बीले पवित्र पर्व ‘शब–ए–बारात’ बाँकेमा श्रद्धा र सामाजिक सद्भावका साथ मनाएका छन् । अरबी पात्रो अनुसार शाबान महिनाको १४ तारिखको राति मनाइने पर्वलाई आत्मशुद्धि, क्षमायाचना र अल्लाहप्रतिको समर्पणको रातका रूपमा लिइन्छ । मङ्गलबार राति मुस्लिम समुदाय मस्जिदमा भेला भई रातभर जाग्राम बसेर उक्त पर्वमा सहभागी भएका थिए । कुरान वाचन, सामूहिक नमाज र व्यक्तिगत प्रार्थनाले वातावरण आध्यात्मिक बनेको थियो ।
नेपालगन्जस्थित जामा मस्जिद, गौसिया, फूलबारी र दावते मस्जिद इस्लामीद्वारा सञ्चालित फैजाने मदिना मस्जिदमा रातभरि विशेष प्रार्थना गरेर बिहान सामूहिक नमाज अदा गरिएपछि ‘शब–ए–बारात’ पर्व सम्पन्न भएको धार्मिक अगुवा मौलाना मुफ्तिफजल हकले बताउनुभयो । उहाँका अनुसार बिहानको सामूहिक प्रार्थनापछि सहभागीले दिवङ्गत पुर्खा, आफन्त र नातेदारको सम्झनामा कब्रिस्तान पुगेर प्रार्थना गरेका थिए ।
शब–ए–बारातको अवसरमा गरिब, दुःखी र असहायलाई दान दिने तथा एक दिन रोजा बस्ने धार्मिक परम्परालाई पनि मुस्लिम समुदायले आत्मसात् गरेको छ । धार्मिक मान्यता अनुसार यस रात अल्लाहसँग क्षमायाचना र विशेष प्रार्थना गरिन्छ । पर्वमा विशेष गरी विभिन्न प्रकारका हलवा बनाएर आफन्त र मित्रलाई खुवाउने एवं वितरण गरिने चलन छ । यस पर्वको १५ दिनपछि पवित्र रमजान सुरु हुने छ र त्यसपछि इद पर्व मनाइने चलन छ ।