गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख १६ गते । दरबारमार्गस्थित ग्यालरी १०८ मा ‘हाम्रो साहस, हाम्रो कला’ शीर्षकमा मिथिला चित्रकला प्रदर्शनी भइरहेको छ । लैङ्गिक हिंसा र असमानता निम्त्याउने दाइजो प्रथा, बालविवाहको चुनौतीलाई चिर्न कलामार्फत जागरण फैलाउन सकिने सन्देश उक्त प्रदर्शनीले दिन्छ ।
माइती नेपाल र ग्यालरी १०८ सँगको सहकार्यमा आयोजना गरेको चित्रकला प्रदर्शनीमा १५ कलाकारका १५ वटा कलाकृति समावेश छन् । बालविवाह र दाइजो प्रथालाई निरन्तरता दिँदै जाँदा किशोरीले आफ्नो शिक्षा पूरा गर्ने अवसर गुमाउने उनीहरूमाथि आर्थिक, सामाजिक सबै प्रकारको हिंसा हुने कुरा कलाले उजागर गरेको छ ।
समाजमा व्याप्त सो कुरीतिलाई परम्पराका रूपमा मान्दा महिला र पुरुषबिचको असमानता जारी नै रहने र बालविवाहले किशोरीको स्वास्थ्यमा असर पर्ने, मातृशिशु मृत्यु दर बढ्ने र समानताको नारा वा लक्ष्य पूरा हुन बाधा पु¥याउनेलगायतका सन्देश दिएको छ । प्रदर्शनी बिहीबारसम्म चल्ने छ ।