• १६ वैशाख २०८३, बुधबार

नपाक्दै तरबुजा चोरी हुन थालेपछि कृषक चिन्तित

blog

चोरी हुन थालेपछि नपाक्दै बजार पठाउन कृषकले टिपेका तरबुजा । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), वैशाख १६ गते ।
स्याङ्जाको भीरकोट नगरपालिकाअन्तर्गत आँधीखोला किनार क्षेत्रमा कृषकले लगाएको तरबुजा नपाक्दै चोरी हुन थालेपछि कृषक चिन्तित बनेका छन् । नगरपालिकाको सहयोगमा आँधीखोला किनारमा कृषकले व्यावसायिक तरबुजा खेती सुरु गरेका थिए ।

भीरकोट नगरपालिका–५ की शोभा तिवारीले आफूले लगाएको तरबुजा चोरी हुन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “तरबुजा पाक्ने तयारीमा छ, तर निरन्तर चोरी हुँदा समस्या भएको छ ।” उहाँ मात्रै होइन, भीरकोटका धेरै कृषक अहिले चिन्तित बनेका छन् ।

आँधीखोलाको वरपर परीक्षणका रूपमा लगाइएको तरबुजा खेतीमा राम्रो फल लागेपछि कृषक उत्साहित भएका थिए । भीरकोट–६ का कृषक मुना थापाले भन्नुभयो, “राम्रो फल लाग्दा निकै उत्साहित भएका थियौँ, अहिले निरन्तर चोरी हुँदा चिन्तामा परेका छौँ ।” बारीमा लगाएको फल जोगाउनका लागि आफूहरूले नियमित गस्ती सुरु गरेको उहाँको भनाइ छ ।

भीरकोट नगरपालिकाले हेफर इन्टरनेसनल र दियालो संस्थासँगको सहकार्यमा सञ्चालन गरिरहेको ‘भीरकोट कृषि तथा पशु विकास परियोजना’मार्फत कृषकहरूले तरबुजा खेती गरेका हुन् ।

कृषकले लगाएको तरबुजाले राम्रो उत्पादन दिएको भन्दै भीरकोट नगरपालिकाका नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले चोरी नियन्त्रणका लागि आवश्यक कदम चालिने बताउनुभयो । उहाँले भन्नुभयो, “तरबुजामा राम्रो फल लागेको छ । चोरी हुन थालेको भन्दै कृषकले गुनासो गरेका छन्, यसको नियन्त्रणका लागि पालिकाले आवश्यक कदम चाल्नेछ ।”

नगरपालिकाले परीक्षणका लागि बगर र खोलाको किनार क्षेत्रमा तरबुजा खेती सुरु गरेको हो । आगामी वर्षदेखि यसलाई व्यावसायिक रूपमा विस्तार गर्ने योजना बनाइएको छ । परीक्षण सफल भएको पालिकाको बुझाइ छ । साथै, बजारीकरणका लागि पनि सहजीकरण गरिने नगरप्रमुख कर्माचार्यले बताउनुभयो ।

भीरकोट नगरपालिका–१ स्थित आँधीखोला नदी किनार, भीरकोट खेलमैदान परिसर, वडा नं. ४, वडा नं. ५ को पकान र वडा नं. ६ को एकुवार फाँटको करिब २० रोपनी क्षेत्रफलमा पहिलो पटक तरबुजा खेती गरिएको हो । यसपटक १८ किसानले खेती गरेका छन् ।