काठमाडौँ, फागुन ५ गते । यस वर्षको राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य रूपमा मनाइने भएको छ । २००७ साल फागुन ७ गते नेपालमा राणा शासनको अन्त्य भई पहिलो पटक प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा सरकारले आउँदो फागुन ६, ७ र ८ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको हो ।
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले तीन दिन राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने निर्णय गर्दै मूल समारोह समिति गठन गरेको छ ।
प्रधानमन्त्री अध्यक्ष रहने समितिमा नेपाल सरकारका मन्त्रीहरू, काठमाडौँ उपत्यकाका सबै नगरपालिकाका प्रमुखहरू, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति, नेपाल सरकारका सचिवहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू सदस्य रहनुभएको छ । गृह मन्त्रालयका सचिव मूल समारोह समितिका सदस्य–सचिव रहनुभएको छ ।
निर्णयअनुसार तीन दिनसम्म देशभर तथा विदेशस्थित नेपाली दूतावास, कूटनीतिक नियोग र वाणिज्य दूतावासहरूमा विभिन्न कार्यक्रम गरिनेछ । मूल समारोह काठमाडौँको सैनिक मञ्च, टुँडिखेलमा आयोजना गरिनेछ ।
बैठकमा प्रधानमन्त्री कार्कीले राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७ गते नेपाली जनताका लागि अत्यन्तै महत्त्वपूर्ण दिन भएको बताउनुभयो । उहाँले प्रजातन्त्र प्राप्तिका लागि नेपाली जनताले पटक–पटक संघर्ष गर्नुपरेको उल्लेख गर्दै ती सबै आन्दोलन, बलिदान र त्यसबाट प्राप्त उपलब्धिको प्रतीकका रूपमा यो दिन रहेको स्पष्ट गर्नुभयो ।
उहाँले पछिल्लो समय देशमा केही सकारात्मक परिवर्तन देखिन थालेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नु भयाे, भदाै २३ र २४ गते भएको आन्दोलनले मुलुकमा परिवर्तन ल्याएको छ, देशमा अलिकति परिवर्तन आएको छ, हरेक ठाउँमा नयाँ युवाहरुलाई ठाउँ दिनुपर्ने भावना आएको छ मुलुकमा ।
प्रधानमन्त्री कार्कीले यही भावनाबाट प्रजातन्त्र फस्टाउने र विकसित हुने विश्वास व्यक्त गर्नुभयो । प्रजातन्त्र एकै प्रयासमा सम्भव नभएको उल्लेख गर्दै उहाँले नेपाली समाज सधैँ परिवर्तनका लागि आन्दोलित रहँदै आएको बताउनुभयो ।
प्रधानमन्त्री कार्कीले आगामी दिनमा कुनै पनि पुस्ताले हिंसात्मक संघर्ष गर्न नपरोस् भन्ने कामना व्यक्त गर्नुभयो । शान्ति भए मात्र देशमा विकास सम्भव हुने उल्लेख गर्दै सबै जातजाति, धर्म, संस्कृति, वर्ग र समुदायबीच एकता र सहकार्यको भावना आवश्यक रहेको धारणा राख्नुभयो ।
लोकतन्त्र स्थापना मात्र पर्याप्त नभई लोकतान्त्रिक अभ्यास व्यवहारमा देखिनुपर्ने उहाँको भनाइ थियो । जनताको र युवाको चाहनाअनुसार काम गरेर देखाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री कार्कीले त्यसैले राष्ट्रिय प्रजातन्त्र दिवसलाई थप महत्त्व दिनुपरेको बताउनुभयो ।
२००७ सालदेखि प्रजातन्त्र र लोकतन्त्रका आन्दोलनका क्रममा धेरैले ज्यान गुमाउनुपरेको स्मरण गर्दै उहाँले सहिदहरूको सम्मान र बलिदानको कदर गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सहिदका सपनालाई साकार पार्न सबैले संकल्प गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री कार्कीले आगामी दिनमा कुनै पनि पुस्ताले हिंसात्मक संघर्ष गर्न नपरोस् भन्ने कामना व्यक्त गर्नुभयो । शान्ति भए मात्र देशमा विकास सम्भव हुने उल्लेख गर्दै सबै जातजाति, धर्म, संस्कृति, वर्ग र समुदायबीच एकता र सहकार्यको भावना आवश्यक रहेको धारणा राख्नुभयो ।