• २२ माघ २०८२, बिहिबार

चितुवाको आक्रमणबाट बर्दियामा एकैदिन दुईजनाको मृत्यु

blog

बारबर्दिया नगरपालिका–११, बेलभारमा चितुवाको आक्रमणपछि शवको मुचुल्का उठाउँदै प्रहरी ।

यज्ञप्रसाद सापकोटा 

गुलरिया (बर्दिया), माघ २२ गते । चितुवाको आक्रमणबाट बर्दियामा एकै दिन दुईजनाको मृत्यु भएकाे छ । मृत्यु हुनेमा मधुवन नगरपालिका–९, गाउँ नं १३ निवासी ४९ वर्षीया मैसरा डाँगी र गुलरिया नगरपालिका–४, तुल्सीपुर निवासी ३५ वर्षीय नन्दु रोकाय रहेका छन् ।

डाँगी नेपाल–भारत सीमा नजिक बारीमा छिमेकीहरूसँग घाँस काटिरहेका बेला चितुवाले आक्रमण गरी भारतीय वनतर्फ लगेको थियो । खोजबिनका क्रममा दशगजा नजिक अरहर बारीमा उहाँको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक देवेन्द्रकुमार मल्लले बताउनुभयो ।

त्यसैगरी, मृतक रोकाय बबई नदी तरेर बारबर्दिया नगरपालिका–११ स्थित जनजागृति सामुदायिक वनमा घाँस काट्न जाँदै गर्दा चितुवाको आक्रमणमा पर्नुभएको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी शिवबहादुर केसीले जानकारी दिनुभयो । रोकायसँगै उहाँकी श्रीमतीसहित चार जना सामुदायिक वनमा पुगेका थिए । वनमा पुग्नेबित्तिकै चितुवाले आक्रमण गरेको स्थानीयले बताएका छन् । पैसा कमाउन भारत गएका रोकाय १२ दिनअघि मात्र घर आउनुभएको थियो । 

माघ महिनामा मात्र बारबर्दिया नगरपालिका–११, बेलभार क्षेत्रमा चितुवाको आक्रमणबाट दुईजनाको मृत्यु भएको छ । यसअघि गत माघ ७ गते सोही स्थानमा तोरी उखेल्ने क्रममा चितुवाको आक्रमणबाट खिदनी थारूको मृत्यु भएको थियो ।

चितुवाको आक्रमणबाट माघ महिनामा मात्र तीनजनाको मृत्यु भइसकेको छ । गत पुस महिनामा चितुवाको आक्रमणबाट दुई जना, पाटेबाघको आक्रमणबाट एक जना र जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो । पछिल्लो समय बर्दियामा चितुवा तथा अन्य वन्यजन्तुको आक्रमणका घटना बढ्दै गएका छन् ।

डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार गत साउनयता चितुवाको आक्रमणबाट सात जना, पाटेबाघको आक्रमणबाट एक जना र जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।