• ५ जेठ २०८१, शनिबार

सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई नसर्ने रोग बढी

blog

काठमाडौँ, असार १० गते । नेपालमा अत्यधिक सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्ति नसर्ने रोगको सिकार हुने गरेका छन्। वीर, पाटन, त्रिवि शिक्षण अस्पताल, कान्ति अस्पतालमा आउने यस्ता रोगका बिरामीमध्ये अधिकांशले सुर्तीजन्य पदार्थ सेवन गरेको पाइएको छ। 

नियमित सुर्ती, चुरोट, बिँडी, हुक्का सेवन गर्ने व्यक्तिलाई क्यान्सर, मुटुरोग, श्वासप्रश्वाससम्बन्धी रोग, मधुमेह, कलेजो, फोक्सो, दम, खोकीलगायतका नसर्ने रोग लाग्ने गर्छ। वीर अस्पतालमा कार्यरत छातीरोग विशेषज्ञ डा. अशेष ढुङ्गानाले अस्पतालमा दैनिक ३० जनासम्म बिरामी श्वासप्रश्वास (दम)को समस्या लिएर आउने गरेको जानकारी दिँदै तीमध्ये ८० प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको बताउनुभयो। उहाँले चुरोट र सुर्ती सेवनले श्वासप्रश्वाससम्बन्धी रोग मात्र नभई, जटिल किसिमका नसर्ने रोग लाग्ने बताउनुभयो। दम, खोकी प्रमुख समस्या रहेकामा २७ प्रतिशत पुरुष र छ प्रतिशत महिला हुने उहाँले बताउनुभयो। 

श्वासप्रश्वास रोग विशेषज्ञ डा. राजु पङ्गेनीले आफूले दैनिक ३० देखि ४० जनासम्म बिरामीको उपचार गर्दा १५ देखि २० जनाले नियमित सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको बताउनुभयो। मौसम अनुसार जाडोयाममा मात्रै दमका रोगी वृद्धि हुने भए पनि पछिल्लो समय बाह्रै महिना दम तथा श्वासप्रश्वासका बिरामी उपचारका लागि आउने गरेको बताउनुभयो। उहाँले सुर्तीजन्य पदार्थबाहेक प्रदूषण, धुवाँ, धुलो, घरभित्रको धुवाँ, धुलो, गाडीबाट निस्कने धुवाँले समेत दम रोगका बिरामी बढेको जानकारी दिनुभयो। उहाँले स्थायी किसिमको दम ४० वर्ष कटिसकेपछि देखिने भन्दै १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि अस्थायी किसिमको दम रोग देखिने बताउनुभयो। 

डा. पङ्गेनीले सहरी क्षेत्रका १५ प्रतिशत जनसङ्ख्यामा दमसम्बन्धी समस्या रहेको बताउनुभयो। काठमाडौँका प्रमुख अस्पतालमा दैनिक ३० जनासम्म दम रोगका बिरामी आउने गरेको बताउनुभयो। 

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले नेपालमा सूर्ती सेवनकर्ताको सङ्ख्या बढेकाले क्यान्सरलगायतका नसर्ने रोग बढिरहेको बताउनुभयो। उहाँले नेपालमा हरेक वर्ष २७ हजार मानिसको मृत्यु सुर्ती सेवनले हुने जानकारी दिँदै सो सङ्ख्या नेपालमा हुने कुल मृत्युको १५ प्रतिशत रहेको बताउनुभयो। 

उहाँले नसर्ने रोगको मुख्य कारण नै सुर्तीजन्य पदार्थ रहेको भन्दै सुर्तीजन्य पदार्थलाई नियन्त्रण नगरेसम्म नसर्ने रोगको प्रकोप बढिरहने बताउनुभयो। उहाँले सुर्तीजन्य पदार्थका कारण हुने क्यान्सरलाई ९० प्रतिशतले रोक्न सकिने बताउनुभयो। विश्व स्वास्थ्य सङ्ठनको तथ्याङ्क अनुसार विश्वमा २५ करोड मानिस दमरोगी छन्। तीमध्ये अधिकांशले सुर्तीजन्य पदार्थ सेवन गरेका हुन्छन्। 

तीमध्ये प्रतिवर्ष ३० लाख मानिसको दम तथा खोकीकै कारण ज्यान जाने गरेको छ। यस्ता रोगीमध्ये ९० प्रतिशत नेपालजस्तो अल्पविकसित वा विकासशील मुलुकका छन्। विश्व रोगभार सर्वेक्षण अनुसार नेपालमा नौ लाख ६० हजार मानिसमा दमका बिरामी रहेको देखाएको छ। विश्वमा प्रतिलाख जनसङ्ख्यामा तीन हजार छ सय दम, खोकीका बिरामी छन् भने नेपालमा चार हजार आठ सयको सङ्ख्यामा छन्। 

 

 

 

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।