• १२ साउन २०८१, शनिबार

मनसुनसँगै बाढीपहिरोको पीडा

blog

काठमाडौँ, असार १० गते । मनसुन सुरु भएसँगै देशव्यापी रूपमा बाढीपहिरोको कहर सुरु भएको छ । असार १ गतेदेखि यता बाढी र पहिरोबाट १७ जनाको ज्यान गएको छ । तीमध्ये पहिरोले सबैभन्दा बढी १५ जनाको ज्यान लिएको छ । बाढीपहिरोमा परेर बेपत्ता भएका २६ जना अझै भेटिएका छैनन् । नेपालमा असार १ गते मनसुन भित्रिएको हो । 

गृह मन्त्रालयस्थित विपत् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार असार १ गतेदेखि यता ४३ घरमा पूर्ण क्षति पुगेको छ भने ११७ घरमा आंशिक क्षति पुगेको छ । शाखाका अनुसार ओखलढुङ्गामा पहिरोले चार जना, सङ्खुवासभा र तनहुँमा दुई/दुई जना, ताप्लेजुङमा तीन जना, नुवाकोट र गोरखामा एक/एक जनाको मृत्यु भएको छ । बाढीले भोजपुरमा एक जना, पाँचथरमा तीन जनाको बाढीले बगाएर मृत्यु भएको छ । 

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता धु्रवबहादुर खड्काले बाढीपहिरोमा परेर हराइरहेका २६ जनाको खोजी कार्य जारी रहे पनि हालसम्म कोही पनि फेला पर्न नसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पहाडै पहिरो खसेकाले घरसँगै मानिसहरू निकै गहिरो गरी पुरिएकाले उद्धार गर्न कठिन भएको छ ।” उहाँका अनुसार सबैभन्दा बढी सङ्खुवासभामा २० जना हराइरहेका छन् । 

ताप्लेजुङमा तीन जना पहिरोमा पुरिएका छन् । पाँचथरमा भने बाढीले बगाएका तीन जना भेटिएका छैनन् । सङ्खुवासभामा पहाड भासिँदा फेदका घरबस्ती करिब डेढ सय फिट गहिराइमा पुरिएका छन् । ती क्षेत्रमा बाढीपहिरोको पीडाबाट बचेर ओडार तथा खोँचमा लुकेर बसेका घाइते तथा जोखिममा परेका १५ जनाको भने सकुशल उद्धार गरिएको छ । उहाँले कोशी र मधेश प्रदेशमा विपत्मा परेकालाई उद्धार गर्न इटहरीमा तैनाथ सुरक्षाकर्मीको हेलिकप्टरबाट सकुशल उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको जानकारी दिनुभयो । पूर्ण क्षति भएका घरका विपत् पीडितलाई अहिले अन्यत्र सुरक्षित स्थानमा राखिएको छ । उनीहरूको घर पूर्ण रूपमा भत्केकाले सरकारले फेरि बनाउनका लागि किस्ताबन्दीमा रकम दिने तयारी थालेको छ । आंशिक क्षति पुगेका घरहरू भने केही मर्मत गरेर बस्न सकिने भएकाले वर्षा रोकिएपछि स्थानीय फेरि बस्न जाने तयारीमा छन् । 

ओखलढुङ्गामा शनिबार पहिरोले चार घर पूर्ण रूपमा क्षतिग्रस्त पारेपछि त्यहाँका बासिन्दालाई अन्यत्र सुरक्षित स्थानमा सारिएको छ । अझै एक साता मनसुन सक्रिय रहने भएकाले बाढीपहिरोजन्य विपत्को सम्भावना उच्च रहेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । बाढी पूर्वानुमान शाखाका अनुसार शुक्रबार रातिदेखि मकवानपुर पोखरालगायत पश्चिम भेगतिर पनि भारी वर्षा भएपछि त्यहाँका मझौला तथा साना नदीमा  बहाव बढेको जनाएको छ। लगातार तीन घण्टाभन्दा बढी वर्षा भएर १५० मिलिमिटर आसपासको वर्षा रेकर्ड भएपछि मकवानपुरको भोर्लेनी र कास्कीको पोखरा, छोमलोङ, जुम्लेटीलगायतका स्थानमा लगातार वर्षा भएको छ। 

जसका कारण नदीमा बाढी आउने र पहाडी भेगमा पहिरो र भेलपहिरोको सम्भावना रहेकाले सतर्क रहन अपिल गरिएको छ। मनसुन पश्चिम नेपालतिर केन्द्रित हुँदै जान थालेकाले आइतबारदेखि महाकाली र यसका सहायक नदीको बहाव उच्च हुने खतरा बढेको छ।