विजयकुमार साह
ढल्केबर, जेठ २५ गते । मधेश प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमबारे विभिन्न राजनीतिक दलका नेताले मिश्रित प्रतिक्रिया दिएका छन् । अधिकांश नेताले नीति तथा कार्यक्रममा उत्साहजनक नारा राखिएको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा जोड दिएका छन् ।
पूर्वमुख्यमन्त्री लालबाबु राउतले नीति तथा कार्यक्रमबारे प्रतिक्रिया दिँदै भन्नुभयो, “अब हेर्दाखेरि नीति तथा कार्यक्रम नारैनाराले भरिएको छ । मलाई लाग्छ कि अब महत्त्वपूर्ण कुरा कार्यान्वयनको हो ।” ‘बेटी पढाऊँ, बेटी बचाऊँ’, प्रत्येक निर्वाचन क्षेत्रमा पाँच किलोमिटर कालोपत्रे सडक निर्माण तथा विगतका अधुरो योजनाको समीक्षा र सम्पन्न गर्ने जस्ता विषय स्वागतयोग्य भएको उहाँको भनाइ छ । कार्यान्वयनमा शङ्का व्यक्त गर्दै उहाँले भन्नुभयो, “जुन किसिमका नारा दिएका छन्, त्यसको कार्यान्वयन होला जस्तो लाग्दैन ।”
पूर्व मुख्यमन्त्री सरोज यादवले भन्नुभयो, “नारा त धेरै छन्, नयाँ केही छैन ।” उहाँले बजेटले धान्न सक्ने खालको नीति ल्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो । स्वास्थ्य भवन निर्माण योजनालाई सकारात्मक रूपमा लिए पनि उहाँले समग्रमा नीति कार्यक्रम कार्यान्वयन हुनेमा शङ्का व्यक्त गर्नुभयो ।
नेकपा (माओवादी केन्द्र) का नेता तथा प्रदेश सभा सदस्य रहबर अन्सारीले पनि नीति तथा कार्यक्रममा एकै खालका कार्यक्रम हरेक वर्ष दोहोरिने गरेको भन्दै आलोचना गर्नुभयो । उहाँले भन्नुभयो, “रोजगारी, उद्यमशीलता, कृषिक्षेत्रसँग जोडिएका कुरा राम्रा छन् तर धेरै जसो कुरा नारामा सीमित देखिन्छ ।” अन्सारीले विशेष गरी पर्यटन क्षेत्रमा नीति आउँछ तर कार्यान्वयन नभएको भन्दै पर्यटन मन्त्रालयबाट कार्यक्रम कार्यान्वयन भएको खासै नदेखिएको बताउनुभयो ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी पार्टी) की नेतृ बेची लुङ्गेलीले पनि नीति तथा कार्यव्रmमलाई मिश्रित रूपमा विश्लेषण गर्नुभयो । उहाँले भन्नुभयो, “हेर्दाखेरि राम्रो पनि छ तर यसअघिका कार्यक्रम पनि नारामा सीमित भएका छन् । यस पटक पनि कर्मकाण्डी जस्तो देखिन्छ ।” महिलासम्बन्धी कार्यक्रम शिक्षा, स्वास्थ्य, ‘बेटी जिन्दावाद’ जस्ता विषय समेटिएकोमा सन्तोष व्यक्त गर्दै उहाँले बजेट र कार्यान्वयन पक्ष कमजोर हुने विगतको प्रवृत्ति दोहोरिने चिन्ता व्यक्त गर्नुभयो ।
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहले आव २०८२/८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रम समावेशी, समृद्ध सशक्त मधेश प्रदेश निर्माणतर्फको एक महìवपूर्ण पाइलाका रूपमा व्याख्या गर्नुभएको छ । शुक्रबार प्रदेश सभामा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमबारे प्रतिव्रिmया दिँदै मुख्यमन्त्री सिंहले यसलाई प्रदेश सरकारको विकास प्रतिबद्धता, जनताको आकाङ्क्षा र समृद्धिको मार्गचित्रको रूपमा उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हामी समावेशी विकास, सामाजिक न्याय र सुशासनका सिद्धान्तमा आधारित भएर प्रदेशको हरेक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने दृढ सङ्कल्पका साथ अगाडि बढिरहेका छौँ ।”