• १२ असार २०८१, बुधबार

तेल महङ्गीएसँगै गाउँमा ठडिन लागे कोल

blog

बुढीगङगामा नगरपालिका –२ नडाङ्गबासीले बनाएको तोरी पेल्ने कोल । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, असार ८ गते । केही वर्ष पहिलादेखि हराउँदै आएको परम्परागत कोल बजारमा तेल महँगो भएसँगै यतिबेला बाजुरेली गाउँमा फेरि ठडिन थालेको छ । पहिलेका पुस्ताले गाउँमा तोरी पेल्नका लागि बनाउने गरेका कोल नयाँ पुस्ताले चासो नदिएपछि गाउँबाटै लोप हुनेक्रममा थियो । शहर बजारमा आधुनिक प्रविधिसहितको मेशिन भित्रेपछि गाउँघरका कोल लोप हुनेअवस्थामा थियो । 

अहिले फेरि नयाँ पुस्ताले कोलको औचित्य बुझ्दै गएपछि हराउँदै गएका ती कोल गाउँमा ठडिन थालेका हुन् । पछिल्लो समय बाजुराको प्रत्येक गाउँबस्तीमा सडकको पहुँच भएसँगै घरनजिक बजार पुगेपछि परम्परादेखि प्रयोग हुने कोल हराउँदै गएका थिए ।

बीस वर्षभन्दा पहिला बाजुराका अधिकांश ठाउँमा हिउँदमा तोरी लगाउने र त्यो तोरी कोलमा पेलेर तेल निकाल्ने गरिन्थ्यो । बाजुराका स्थानीयले मान्दैआएका बीसु, माघी, दशै र तिहारको बेला बाजुराका अधिकांश गाउँबस्तीमा हालेको कोल पेल्नेको भिड हुने गथ्र्यो । 

२०६५ सालदेखि बाजुरामा सडक पुगेसँगै ठाउँ ठाउँमा बजार स्थापना हुँदैगएपछि गाउँमा तोरी पेल्ने कोलपछि विस्तारै हराउँदै गएको बाजुराका ज्येष्ठनागरिकको भनाइ छ । अहिले बाजुराका नौ वटै स्थानीय तहका अधिकांश गाउँबस्तीमा सडक सञ्जालको पुहँच पुगेको छ । तेलको मुल्य आकाशिएसँगै अहिले पुनः कोल स्थापना गर्नेक्रम बढ्दैगएको छ ।  

अहिलेका नयाँ पुस्ताले समेत कोल प्रयोगमा ल्याउन थालेको बूढीगङ्गा नगरपालिका –२  नडाङ्का गगन थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले बुवाले गाउँमा कोल हाल्नुभएको थियो । ती कोल बुवाको पुस्तासम्म सञ्चालनमा थियो । 

बजारमा तेलको मूल्य अचाक्ली बढेकै कारण गाउँमा अहिले तोरी खेती पनि बढ्दैगएको स्थानीयको भनाइ छ । पहिले खेती गर्ने किसानले गाउँमा तोरी लगाउन छाडेसँगै गाउँमा सञ्चालन हुँदैगएको कोल विस्तारै हराउँदै गएको स्थानीय तुला नेपालीले बताउनुभयो । २०६५ तिर ५० रुपियाँ पर्ने एक पोका तोरीको तेलको मूल्य बढेर अहिले ३५० रुपियाँ पुगेको उहाँको भनाइ छ ।