• ५ जेठ २०८१, शनिबार

सभामुख घिमिरेसँग उत्तर कोरियाली राजदूतको भेट

blog

सभामुख देवराज घिमिरेसँग भेट गर्नुहुँदै नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेन । तस्बिर : सभामुखको निजी सचिवालय

काठमाडौं, असार ७ गते। सभामुख देवराज घिमिरेसँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले बिहीबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा नेपाल–उत्तर कोरिया द्विपक्षीय सम्बन्ध विस्तार, संसदीय आदान प्रदानलगायत विषयमा छलफल भएको छ।

भेटमा सभामुख घिमिरेले दुवै देशबीच विभिन्न समयमा भएका संसदीय आदान प्रदान एवम् भ्रमणको स्मरण गर्नुभएको थियो। ‘‘विगतमा हाम्रा माननीयहरूले उत्तर कोरियाको भ्रमण गर्नुभएको थियो,’’ उहाँले भन्नुभयो, ‘‘कोरियाली संसदमा उत्तर कोरिया–नेपाल संसदीय मैत्री समूह गठन भएको सुन्न पाउँदा खुसी लागेको छ।’’ सभामुख घिमिरेले निकट दिनमै  नेपालले नेपाल–उत्तर कोरिया संसदीय मैत्री समूह गठन गर्ने बताउनुभएको जानकारी सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयो।

सभामुख घिमिरेले नेपालले कोरियाली प्रायद्वीपमा भएका घटनाक्रमलाई चासोका साथ नियालिरहेको बताउँदै आफ्नो मुलुक कोरियाली शान्ति, एकता र स्थायित्वको पक्षमा रहेको उल्लेख गर्नुभयो। उहाँले सांसदमार्फत दुई देशका जनताबीचको सम्बन्ध स्थापना गर्नुपर्नेमा जोड दिनुभयो।



भेटमा नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले आफ्नो देशको सर्वोच्च जनसभा (संसद्)ले नागरिकका जनअधिकार र नागरिक स्वतन्त्रताको रक्षाका लागि कानुन निर्माण गर्दै गएको जानकारी गराउनुभएको थियो। उहाँले बालबालिका सम्बन्धी कानुन पारित भएसँगै निःशुल्क शिक्षाको अधिकार ग्यारेन्टी भएको जानकारी दिनुभयो। सन् १९७४ मा नेपाल र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीचको सम्बन्ध मैत्रीपूर्ण रूपमा अगाडि बढिरहेको छ।