• ५ जेठ २०८१, शनिबार

राजस्वपाको पहिलो वर्ष ऊर्जाशील र सौहार्दपूर्ण रह्यो : सभापति लामिछाने

blog

राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना दिवसका अवसरमा केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो भनाइ राख्नुहुँदै सभापति रवि लामिछाने । तस्बिर : गोरखापत्र

काठमाडौँ, असार ७  गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको पहिलो वर्ष सकारात्मक, ऊर्जाशील र सौहार्दपूर्ण रहेको बताउनुभएको छ । 

पार्टी स्थापना दिवसका अवसरमा आज केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीको एकवर्षे यात्राको समीक्षा गर्दै भन्नुभयो, “यो एक वर्ष अत्यन्त सकारात्मक, ऊर्जाशील र सौहार्दपूर्ण रह्यो । नेपाली जनताले आशा र भरोसाका रूपमा हेरेको नयाँ सफल पार्टीका रूपमा लिएका छाैँ ।” 

सभापति लामिछानेले पार्टीलाई विस्तार गरेर जनताको विश्वासअनुसार परिणाममुखी बन्नु अबको चुनौती भएको बताउनुभयो । “उपनिर्वाचनसम्म आइपुग्दा आम नागरिकलाई हामी नयाँ पार्टी, नयाँ मान्छे आएको जानकारी भयो”, उहाँले भन्नुभयो, “सम्पूर्ण नागरिकमाझ पुगेर विश्वासलाई मतमा रूपान्तरण गर्न सक्नेगरी सङ्गठन विस्तार गर्नुपर्ने चुनौती छ ।” 

उहाँले पार्टीले चाहेजस्तो नेतृत्वलाई समावेश गरेर सङ्ख्याका रूपमा मात्र ठुलो नभई आन्तरिक लोकतन्त्रलाई कायम राखेर परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले रास्वपाको संसद्मा भूमिका अझ मर्यादित र सशक्त हुने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । 

कार्यक्रममा पूर्वबैंकर अनिलकेशरी शाह औपचारिकरुपमा रास्वपा प्रवेश गर्नुभएको छ । उहाँलाई प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी दिइएको छ । रासस