• १९ असार २०८१, बुधबार

उद्धार तथा राहत वितरण सुरु

blog

सुनसरी समाचारदाता

इटहरी, असार ७ गते । कोशी प्रदेशका तीन पहाडी जिल्लाका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा सर्वसाधारणका लागि बुधबारदेखि औषधी तथा प्रारम्भिक राहत वितरण सुरु गरिएको छ । बाढी पहिरोमा फसेका र बेपत्ता भएकाहरूको खोज तथा उद्धारलाई निरन्तरता दिनुका साथै विस्थापित परिवारको व्यवस्थापन गर्ने र औषधीजन्य र अन्य राहत वितरणको काम सुरु गरिएको हो ।

नेपाली सेनाको नेतृत्वमा स्थापित प्रदेशस्तरीय आपत्कालीन कार्य केन्द्रले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा हेलिकोप्टरबाट राहत र औषधीजन्य सामग्री पठाइएको बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सेनाको सक्रियतामा पूर्वी पृतना मुख्यालय इटहरीमा आपत्कालीन कार्य केन्द्र स्थापना गरिएको छ । केन्द्रमा सेनाका पूर्वी पृतनापति उपरथी डा. आसबहादुर तामाङ, नेपाल प्रहरी कोशी प्रदेशका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला, सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनी पोखरेल, राष्ट्रिय अनुसन्धानका अनुसन्धान निर्देशक कृष्ण खनाल र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव अर्जुन निरौला सदस्य रहनुभएको छ । 

पत्रकार सम्मेलनमा पृतनापति डा. तामाङले सङ्खुवासभामा हेवा, पिलुवा र सभा खोलामा आएको बाढीका कारण धेरै मानवीय र भौतिक क्षति भएको बताउनुभयो । ताप्लेजुङ, पाँचथर र सङ्खुवासभा जिल्लाका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा बुधबार चौथो दिन पनि नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी बलबाट परिचालित सुरक्षाकर्मीले सर्वसाधारणसँगको सहकार्यमा खोज तथा उद्धार कार्य जारी राखेका छन् । 

यसै क्रममा सिदिङ्‍गवा गाउँपालिका–६, मेहेलेमा विस्थापित नागरिकलाई वितरण गर्ने राहत सामग्री एवं घाइते तथा अन्य बिरामीको उपचारका लागि औपधीजन्य सामग्री विराटनगरबाट हेलिकोप्टरद्वारा ढुवानी गरिएको बताइएको छ । त्यस्तै ताप्लेजुङको मेहेलेमा पहिरोमा परेर निधन भएका दुई जना सर्वसाधारणको शव हेलिकोप्टरबाट झापाको चारआली पु-याइ आफन्तलाई बुझाइएको छ ।

बाढी पहिरोमा सङ्खुवासभामा दुई जनाको मृत्यु भएको छ भने बेपत्ता भएका २१ जनाको खोजी तीब्र पारिएको छ । त्यस्तै पाँचथरमा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन् । ताप्लेजुङमा पनि तीन जनाको मृत्यु भएको र तीन जना बेपत्ता भएको बताइएको छ । बाढी तथा पहिरोका कारण तीन जिल्लामा ४३ वटा घर भत्किएको छ भने २१० परिवारका ८१० जना विस्थापित भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।