• १३ असोज २०८१, आइतबार

दलित बस्तीमा खानेपानीको चरम अभाव

blog

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, असार ७ गते । सुनकोशी गाउँपालिका–४, यमुनाडाँडाका दलित बस्तीमा आठ वर्षभन्दा लामो समयदेखि खानेपानी अभाव छ। २०७२ सालको भूकम्पले भगटेधाराको मुहान सुकेपछि मिजारटोल, कोटाटोल, जमदारटोल, बिर्ताटोललगायतका बस्तीमा खानेपानीको चरम अभाव भएको हो।

मिजारटोलमा एउटा धारा छ तर उक्त धारामा पानी नआएको पनि आठ वर्ष बितिसकेको छ। “धारामा पानी आउँदैन, ढुङ्गेधारामा पनि पानी सुकेपछि पिउनका लागि नै समस्या छ,” ज्येष्ठ नागरिक जितबहादुर सार्कीले पीडा सुनाउनुभयो। 

पिउन र दैनिक प्रयोगमा पानी अभाव भएपछि दलित बस्तीमा हाहाकार छाएको छ। बस्तीमा पानी नभएपछि घण्टौँ समय लगाएर बेत्रावती मन्दिरको धाराबाट पानी ल्याउनुपर्ने अवस्था छ। त्यहाँ पनि पालो कुर्नु पर्छ। एक गाग्रो पानी थाप्न बिहानभर कुर्नुपर्ने स्थानीय सीमा मिजारले बताउनुभयो। 

“भगटेधाराको तिरतिर पानी थाप्न बिहान ४ बजेदेखि नै गाग्रीको लाइन लाग्छ। एक गाग्री पानी थाप्नकै लागि बिहान र दिन माया मार्नु पर्छ,” सीताले पीडा सुनाउनुभयो। 

खानेपानी प्रबन्ध गर्नका लागि वडा कार्यालय र सुनकोशी गाउँपालिकालाई पटक पटक आग्रह गरे पनि मिजार बस्तीमा कसैले खानेपानीको उचित व्यवस्थापन मिलाउन चासो देखाएको छैन। वडा र पालिकाले सबै वडामा धारा निर्माणलाई तीव्रता दिन थाले पनि मिजार बस्तीमा धारा निर्माणका लागि कुनै वास्ता गरेको देखिँदैन।