• २५ वैशाख २०८१, मङ्गलबार

बाढी-पहिरो प्रभावित क्षेत्रमा प्राथमिकताका आधारमा काम : उप्रधानमन्त्री श्रेष्ठ

blog

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पूर्वी पहाडका जिल्लामा देखिएको विपद् र उद्धारको विषयमा सरोकार वालासँगको छलफलमा। तस्बिर: उपप्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौं, असार ६ गते। मनसुनजन्य विपद्‍बाट पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर र संखुवासभा लगायत जिल्लामा भएको क्षतिको अवस्था,तत्काल गर्नुपर्ने काम तथा सरकारका प्राथमिकताबारे उप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले सरोकारवालासँग छलफल गर्नुभएको छ। 

उपप्रधानमन्त्री श्रेष्ठले खोज तथा उद्दारको निरन्तरता, जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थलमा स्थानान्तरण, घाइतेको उपचार, अभाव भएका स्थानमा खाद्यान्नको ढुवानी, खानेपानी तथा विद्युत आपूर्ति एवं आवागमन पुनर्स्थापनालाई क्रमशः प्राथमिकताका आधारमा थालिसकेको जानकारी दिनुभयो।

नेपालमा मनसुन भित्रिएको दिन २०८० जेठ ३१ गतेदेखि परेको भारी वर्षाबाट बुधबार अपरान्हसम्म पूर्वी पहाडका तीन जिल्लासहित भोजपुर, तनहुँ, नुवाकोट र गोरखामा गरेर ३ जनाको मृत्यु भइसकेको छ। अहिलेसम्म २६ जना बेपत्ता भएका छन् भने आठ जना घाइतेको उपचार भइरहेको छ। ४१ वटा घर पूर्ण रुपमा र सातवटा आंशिक रुपमा क्षतिग्रस्त भएका छन्।

 भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बाढी पहिरोबाट सडक र पुलमा मात्रै ४० करोडको हाराहारीमा क्षति भएको जानकारी दिनुहुँदै मेची राजमार्ग सुचारु गराउन हेवाखोलामा १० दिनमा बेलीब्रिज राख्नसकिने अनुमान गरिएको बताउनुभयो।   

छलफलमा ताप्लेजुङका सांसद योगेश भट्टराई, संखुवासभाका सांसद दीपक खड्का, पाँचथरका सांसद वसन्त नेम्वाङ, प्रतिनिधिसभा सदस्य  लिलादेवी वोखिम (लिम्बू)ले आ-आफ्ना जिल्लामा तत्काल गर्नुपर्ने कामका बारेमा उल्लेख गर्नुभयो। 



सांसदले घरबास गुमाएकाका लागि टेन्टको व्यवस्था गर्नुपर्ने, कतिपय स्थानमा हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गर्नुपर्ने अवस्था रहेको, तत्कालका उद्दार तथा राहतका लागि जिल्लामा रकम निकासा गर्नुपर्ने, यातायात सुचारुमा जोड दिइनुपर्ने लगायतका विषयवस्तु राख्नुभएको थियो।  छलफलमा तीनवटै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि एवं विपद् सम्बद्ध निकायका अधिकारीको उपस्थिति थियो।