रेखीराम राना
पाल्पा, असार ६ गते। पाल्पाको कालीगण्डकी नदी र तिनाउ नदीमा पौडी खेल्दा डुबेर मृत्यु हुनेको सङ्ख्या बढेको छ। पौडी खेल्न पोख्त नभएका र साथीभाइको लहैलहैमा पौडिन खोज्दा नदीमा डुबेर मृत्यु हुनेको सङ्ख्या बढेको हो।
गर्मी छल्न र साथीको लहैलहैमा पौडी खेल्ने क्रममा ज्यान गुमाउनेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
विगतको वर्षको तुलनामा यो वर्ष गर्मी मौसममा तिनाउ नदीमा पौडी खेल्ने क्रममा ज्यान गुमाउनेको सङ्ख्या बढेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो। उहाँका अनुसार आव २०७९/०८० को साउन महिनादेखि हालसम्म २१ जनाको नदीमा डुबेर मृत्यु भएको छ। २३ जनामध्ये अधिकांशको तिनाउ गाउँपालिकास्थित तिनाउ नदीमा डुबेर ज्यान गएको छ।
रुपन्देहीबाट गर्मी छल्न तिनाउ नदीमा पौडिने क्रममा किशोर तथा युवा ज्यान जाने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। यतिमात्र होइन तिनाउ नदीमा भारतबाट घुम्न आएका युवाको समेत ज्यान जाने गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्ब शर्माले जानकारी दिनुभयो।
पाल्पाको कालीगण्डकी नदीमा मानिसको डुबेर ज्यान जाने गरेको छ। रामपुरको विभिन्न क्षेत्रमा पौडी खेल्ने क्रममा किशोर–किशोरी तथा अन्य मानिसको ज्यान जाने गरेको छ। कालीगण्डकी नदीको बहावका बारेमा जानकारी नभएका किशोर–किशोरी पौडी खेल्ने क्रममा ज्यान जाने गरेको प्रहरीको भनाइ छ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले नदी किनार तथा जोखिमयुक्त स्थानमा पौडी नखेल्न आग्रह गरेको छ। पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले गर्मी भयो भनेर ज्यान जोखिममा पारेर पौडी खेल्न नहुने बताउनुभयो।