• २० असोज २०८१, आइतबार

ताप्लेजुङमा बाढीपहिरोका कारण १३ घरमा पूर्ण क्षति

blog

सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा पहिरोले क्षतिग्रस्त बनाएको एक स्थानीयको घर । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, असार ६ गते ।
 बाढीपहिरोका कारण ताप्लेजुङमा मङ्गलबारसम्म १३ घर पूर्णरुपमा क्षति पुगेको छ । गत बिहीबारदेखि सुरु भएको वर्षासँगै गएको बाढीपहिरोले जिल्लाका विभिन्न क्षेत्रमा दर्जन बढी घर बगाएको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म बाढी पहिरोका कारण ताप्लेजुङमा १३ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । सबैभन्दा बढी सिदिङ्वा गाउँपालिकामा बाढीपहिरोले क्षति गरेको समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिनुभयो ।

प्रजिअ चेम्जोङका अनुसार सिदिङ्वा गाउँपालिका –३ आङ्खोपमा चार घर, वडा ६ मेहेले र वडा ७ सुरुम्खिममा दुई–दुई वटा घर बाढीपहिरोले क्षतिग्रस्त बनाएको छ । यस्तै, सिरिजङ्घा गाउँपालिका –७ खेबाङमा दुई, वडा ८ याम्फुदिनमा एक घर क्षतिग्रस्त भएका छन् । यसैगरी, मैवाखोला गाउँपालिका –३ र वडा ४ साँघुमा एक–एक घर बाढीपहिरोले पूर्णरुपमा क्षति पुगेको विपद् व्यवस्थापन समितिले जनाएको छ ।

त्यस्तै, बाढीपहिरोमा परी हालसम्म तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएको छन् । साथै अन्य तीन जना घाइते भएको समितिले जनाएको छ । बाढीपहिरोमा परी मृत्यु हुने र बेपत्ता हुने सबै सिदिङ्वा गाउँपालिका–६ मेहेलेका रहेका छन् ।

मृत्यु हुनेमा मेहेलेका गणेश तामाङ, केशरबहादुर राई र सुरेश राई हुनुहुन्छ । त्यस्तै, एकै परिवारका तीन जना भगीमाया बुडाक्षेत्री, सन्ध्या बुडाक्षेत्री र प्रज्ज्वल बुडाक्षेत्री बेपत्ता हुनुहुन्छ ।

बाढीपहिरोमा परी घाइते हुनेमा भने सिदिङ्वा गाउँपालिका–६ मेहेलेका राजकुमार राई, मैवाखोला गाउँपालिकामा माङ्माया खोला लघु जलविद्युत आयोजनामा कार्यरत कर्मचारी भीमबहादुर तामाङ रहनुभएको छ । अर्का घाइते बिर्खबहादुर लिम्बु रहनुभएको छ । उहाँको स्थानीय स्वास्थ्य संस्थामा मेहेलेका घाइते राईको विराटनगरमा उपचार भइरहेको पनि जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । ताप्लेजुङमा अहिले पनि वर्षाको क्रम जारी रहेको छ ।