• ३२ साउन २०८१, शुक्रबार

नेपाल र भारतबीचको सम्बन्ध हिमाल झैँ उचाइमा पुगेको छ : मन्त्री किराती

blog

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराती ।

काठमाडौं, असार ६ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले नेपाल र भारतबीचको सम्बन्ध हिमालको उचाइ झैँ अघि बढिरहेको बताउनुभएको छ ।

बुधबार पोखरामा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री किरातीले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणपछि झनै नेपाल र भारतबीचको सम्बन्ध थप सुदृढ र उचाइमा पुगेको बताउनुभयो ।

मन्त्री किरातीले योगा गर्न र मनोरम दृश्य हेर्न भारतका नागरिकहरूलाई पोखरा आह्वान गर्नुभयो । उहाँले नेपालको जस्तो प्राकृतिक सुन्दरता अन्य देशमा नरहेको भन्दै उहाँले पोखरालाई नेपाल, भारत र चीनको व्यापारिक केन्द्र बनाउनुपर्ने बताउनुभयो । उहाँले पोखराबाट भारतका विभिन्न सहरमा हवाई उडान हुनसके सांस्कृतिक, सामाजिक र आर्थिक सम्बन्ध सुदृढ हुने बताउनुभयो ।

‘‘योगा गर्न र मनोरम दृश्य हेर्न भारतका दिदी बहिनी, दाजुभाइलाई निम्तो गर्दछौँ । नेपालको जस्तो प्राकृतिक सुन्दरता सायदै विश्वमा छ । पोखराबाट सिँधै भारतको विभिन्न सहरहरूमा उडान भर्नसक्ने लगभग सम्भावना बढेको छ । पोखराबाट पटना, पोखराबाट भारतको चण्डीगढ, पोखराबाट भारतको गोरखपुर विमानस्थलमा हामीलाई उडान भर्नसके सांस्कृतिक, सामाजिक र आर्थिकसम्बन्ध प्रगाढ भएर जान्छ ।,’’ मन्त्री किरातीले भन्नुभयो, ‘‘इतिहासमा पनि पोखरा भारत, नेपाल र चीनको व्यापारिक ठुलो नाका थियो । नेपाल र भारतको सम्बन्ध पनि झनै हिमाल झैँ उचाइमा बढिरहेको छ । प्रधानमन्त्रीको पछिल्लो भ्रमणले त्यो कुरालाई पुनः पुष्टि गरेको छ । कोशेढुङ्गा साबित भएको छ सम्बन्धमा ।’’

मन्त्री किरातीले प्रधानमन्त्री प्रचण्डको पछिल्लो भारत भ्रमणसम्बन्ध विस्तारका लागि कोशेढुङ्गा साबित भएको बताउनुभयो ।