• १२ मंसिर २०८१, बुधबार

बौद्धिक अपाङ्गताका अभिभावक सङ्घ गुल्मीको नयाँ नेतृत्व चयन

blog

बौद्धिक अपाङ्गताका अभिभावक सङ्घ जिल्ला कार्य समितिको छैटौँ अधिवेशन तथा दसौँ साधारण सभाबाट निर्वाचित पदाधिकारीहरू । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा
गुल्मी, असार ५ गते । 
बौद्धिक अपाङ्गताका अभिभावक सङ्घ गुल्मीको अध्यक्षमा राजकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । मङ्गलबार बौद्धिक अपाङ्ग पुनः स्थापना केन्द्रको सभा हल तम्घासमा भएको बौद्धिक अपाङ्गताका अभिभावक सङ्घ जिल्ला कार्य समितिको छैटौँ अधिवेशन तथा दसौँ साधारण सभाबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

यस्तै, उपाध्यक्षमा डिलबहादुर थापा, सचिवमा तारा पौड्याल, सहसचिव सावित्री भण्डारी, कोषाध्यक्ष अनुराम पाण्डे रहनुभएको छ । सदस्यहरूमा रुपा भण्डारी, पदमबहादुर जिसी, भीमबहादुर अधिकारी, छविलाल पाण्डे, भूमि मरासिनी, सरस्वती भण्डारी निर्वाचित हुनुभएको छ ।

सोही अवसरमा सल्लाहकार समिति समेत गठन गरिएको छ । जसको संयोजकमा ईश्वरीप्रसाद पौड्याल, सदस्यहरूमा रघुनाथ मरासिनी, उमानाथ पन्थी, मेघलाल पाण्डे, राममणि पन्थी, र कृष्णप्रसाद बेल्बासे रहनुभएको छ । यस संस्थामा अहिलेसम्म १०७ जना बौद्धिक अपाङ्गता आबद्ध रहेका छन् ।

त्यस अवसरमा रेसुङ्गा नगरपालिका उपप्रमुख अमृतादेवी कुँवरले अहिले बौद्धिक अपाङ्गता भवन समेत निर्माण भएकाले सडकको पहुँचका लागि नगरपालिकाले विशेष सहयोग पुर्‍याउने बताउनुभएको थियो । उहाँले नगरपालिकाभित्र बन्ने भवनहरू अपाङ्गमैत्री बनाउनका लागि समेत निर्देशन दिएको बताउनुभयो । अपाङ्गता भएकाहरूलाई नगरपालिकाले घरघरमै समेत गएर अपाङ्गगता परिचय पत्र वितरण गर्ने गरेको समेत बताउनुभयो ।

त्यस्तै, रेसुङ्गा नगरपालिका –९ का वडाध्यक्ष कृष्णप्रसाद पाण्डेय, नेपाल पत्रकार महासङ्घ गुल्मीका अध्यक्ष टोपलाल अर्याल, सुशासन अभियान गुल्मीका अध्यक्ष श्यामकुमार पाण्डेले बौद्धिक अपाङ्गता भएकाहरूको सहयोगका लागि सबै एकजुट भएर सहयोग गर्नुपर्ने बताउनुभयो । ईश्वरीप्रसाद पौड्यालको अध्यक्षता रहेको साधारण सभाको सञ्चालन मेघलाल पाण्डेयले गर्नुभएको थियो ।