निशा राई
धरान, असार ६ गते । धरानदेखि ऐतिहासिक साँगुरीगढी जाने पर्यटकीय गन्तव्य श्रम संस्कृति पदमार्गको उद्घाटन गरिएको छ । पूर्वको रमणीय स्थलमध्ये साँगुरीगढी पनि एक हो । यहाँबाट धनकुटा, तेह्रथुम, सङ्खुवासभा लगायत पहाडी क्षेत्रका बासिन्दाहरू पहाड, मधेश आवतजावत गर्ने गन्तव्य रहेको थियो ।
नेपाल एकीकरणको क्रममा पृथ्वी नारायण शाहले लिम्बुवान क्षेत्रमा रहेको यो गढीलाई जितेर यही गढी हुँदै पूर्वमा सेना पठाउने गरेको इतिहास छ । हाल धरान वडा नं.२० मा रहेको बीपी पार्क, श्रमपार्क हुँदै पदयात्राका लागि उक्त ऐतिहासिक बाटोलाई पर्यटकीय आकर्षण बनाउन सङ्घीय सरकारले पदमार्ग निर्माण बजेट विनियोजन गरेको थियो । उक्त पदमार्गको मङ्गलबार नगर प्रमुख हर्कराज राई र उपप्रमुख अइन्द्रबिक्रम बेघाले उद्घाटन गर्नुभएको हो ।
पुर्खाहरूले हिँडेको बाटोलाई पदमार्गको रूपमा विकास गरेर पर्यटकीय आकर्षण बनाउन चाहेको नगर प्रमुख हर्कराज राईले बताउनुभयो । हाम्रो इतिहासलाई र पुर्खाहरूले प्रयोग गरेको सामग्रीहरूको प्रतिमा बाटो–बाटोमा बनाइने भएकाले पुर्खाको सम्झनामा समर्पित भए पनि यसबाट स्वदेशी पर्यटकसँगै विदेशी पर्यटक पनि आकर्षित हुने बताउनुभयो ।
प्रदेश सरकार, केन्द्र सरकारसँग बजेटका लागि पहल गरेर भए पनि पदमार्गलाई साँगुरीगढीसम्म पुर्याइने उपप्रमुख बेघाले बताउनुभयो । उहाँको अनुसार धरानदेखि साँघुरीगढी करिब २ किमी भए पनि हाल ५१२ मिटर बनेको छ । बजेटको निकास चाँडै भए काम यही सालमा सम्पन्न गर्ने योजना रहेको जानकारी उहाँले दिनुभयो ।
पदमार्ग निर्माणका लागि सङ्घीय सरकारको बजेट, सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाईबाट बजेट आएको थियो । चालु आर्थिक वर्षमा कुल ९७ लाख बजेट आएको र उक्त बजेटको ४० प्रतिशतले पदमार्ग निर्माण गरिएको हो भने ६० प्रतिशत वडा ४ मा बहुउद्देश्यीय भवन निर्माणमा लगानी गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष राम लिम्बुले जानकारी दिनुभयो ।
उहाँका अनुसार पदमार्गका लागि छुट्टिएको ३८ लाख ८० हजार बजेटमा २६.५ प्रतिशत कटाएर २८ लाख ५१ हजार आठ सय प्राप्त भएको थियो भने २० प्रतिशत श्रमदान भएको थियो ।