चित्र मिजार
सिन्धुपाल्चोक, असार ६ गते । चिनियाँ अनुदानमा निर्माणाधीन चौतारा अस्पतालको नयाँ भवन निर्माण कार्य ६५ प्रतिशत पूरा भएको छ । सन् २०२२ सेप्टेम्बर ९ बाट निर्माण सुरु भएको उक्त भवन हाससम्म ६५ प्रतिशत पूरा भएको हो ।
चिनियाँ ठेकेदार कम्पनी हवेई कन्स्ट्रक्सन ग्रुपले अन्तर्राष्ट्रिय मापदण्डमा भवन निर्माण गरिरहेको छ ।
साढे तीन तले भवनको बाहिरी संरचना निर्माण पूरा भएको निर्माण कम्पनीले जनाएको छ । निर्माणमा संलग्न चिनियाँ इन्जिनियर गुओ बाओचिङले सन् २०२४ फेब्रुअरीसम्म भवनको भित्री काम सम्पन्न हुने जानकारी दिनुभयो ।
भवनको पहिलो र दोस्रो तलामा गरी ३९ शय्या रहने छ भने अस्पताल भवनमा ५० भन्दा बढी सानाठूला कक्ष निर्माण हुने छ ।
शारीरिक अशक्तलाई हिँड्न ओरालो बाटो (–याम्प), लिप्ट सिस्टम र अत्याधुनिक उपकरण जडान गरिने छ । तीन वटा कन्सल्टिङ रुम, इमर्जेन्सी र ओपिडी गरी तीन वटा रुम, फार्मेसी, काउण्टर, रिसेप्सन, तीन वटा नर्स स्टेसन, अपरेटिङ कक्ष तीन, पाँच वटा ल्याब, पाँच वटा उपचार कक्ष, किचेन, क्यान्टिन दुई वटा रुम, शिशु आहार रुम, बहुकार्य कक्ष, लाइबेरी रहने छन् ।
पाँच वटा प्रशासन कक्ष, दुई वटा कन्फ्रेन्स रुम, जेनेरेटर, स्टोर रुम, विभिन्न प्रयोजनका लागि १० वटा रुम प्रयोग गरिने भएको छ । बालुवा, गिट्टी, र सिमेन्ट बाहेक फलाम, स्टिल, र काठजन्य सामग्री सबै चीनबाट ल्याइएको छ ।
सन् २०२४ मार्चसम्म निर्माण सम्पन्न गरेर नेपाल सरकारलाई उक्त भवन हस्तान्तरण गर्ने चिनियाँ योजना रहेको छ । भवन निर्माण सम्पन्न भएपछि चीन सरकारले उक्त अस्पतालका लागि सम्पूर्ण मेडिकल उपकरण, फर्निचर, इसिजी, एक्सरे, अटोमेटिक ब्लड एनालाइजर मेसिन उपलब्ध गराउने छ ।
चीनको वाणिज्य मन्त्रालयअन्तर्गत एजेन्सी फर इन्टरनेसनल इकोनोमिक कोअपरेसनले सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी चाइना चियापान कर्पोरेसनको डिजाइनमा भवन निर्माण गर्न चिनियाँ ठेकेदार कम्पनी हवेई कन्स्ट्रक्सन ग्रुप फिल्डमा खटिरहेका छन् ।
निर्माण कार्यमा २५ देखि ४० जना मजदुर दैनिक खटिरहेका छन् । सदरमुकाममा सुविधा सम्पन्न अस्पताल बन्न थालेपछि सिन्धुपाल्चोकवासी हर्षित छन् ।