• १३ असोज २०८१, आइतबार

योगमा कुण्डलिनी साधनाको शक्ति

blog

नवौँ अन्तर्राष्ट्रिय योग दिवस। विश्वले सन् २०१५ देखि हरेक वर्ष जुन २१ मा योग दिवस मनाउँदै आएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्थानीय निकायमा गठन भएका ५०० भन्दा बढी योगसँग सम्बन्धित सङ्घ संस्थालाई समायोजन गरी यो दिवस भव्यताका साथ मनाउँदै छ। यस वर्षको अन्तर्राष्ट्रि«य योग दिवसको नारा संयुक्त राष्ट्रसङ्घले ‘हुम्यानिटी’ छिमेकी मुलुक भारतीय प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजना गर्ने अन्तर्राष्ट्रिय योग दिवसमा सहभागी हुनुहुने र भारतले युएनका लागि तयार गरेको नारा ‘योग फर वसुधैव कुटुम्बकम्’ (वसुधैव कुटुम्बकम्का लागि योग) रहेको छ। 

वसुधैव कुटुम्बकम्को कुरा आउँदा नेपालीको छाती गर्वले फुल्छ। कारण यो भूमिमा वसुधैव कुटुम्बकम्को संवर्धन गर्ने उद्देश्यले मानवताका लागि ४३ भन्दा बढी पूर्वीय दर्शन लेखिएको छ। हाम्रो देश हाइट ‘सगरमाथा’ र लाइट ‘गौतमबुद्ध’ सँग विश्वभर परिचित छ। त्यसै गरी योग, ध्यान र अध्यात्मको अध्ययन र साधना गर्ने साधकले विश्वमा सर्वप्राचीन देवभूमि, ज्ञानभूमि, योग साधनाभूमि र तपोभूमिको पहिचान फैल्याउँदै लगिरहेका छन्। कुण्डलिनी शक्ति हरेक व्यक्तिभित्र जागृत वा सुषुप्त अवस्थामा रहेको हुन्छ। सुषुप्त अवस्थामा रहेको कुण्डलिनी शक्तिलाई योग, ध्यान र शक्तिको माध्यमबाट जागृत गराउन सकिन्छ। एउटा मानव आमाको गर्भबाट पृथ्वीमा पैदा हुनेबित्तिकै पहिलो पटक च्याहा गरी रुँदाको मुहारको आकृति र पञ्चमहाभूतले बनेको शरीरलाई छाड्दा अन्तिम प्रश्वाससँग बाहिरिने जीवन ज्योति रूप शक्ति बाहिरिँदाको मुहारको आकृति ज्यामितीय सम्बन्धको बोध कुण्डलिनी जागरण गरेको साधकले मात्र महसुस गर्न सक्छ। 

स्थुल शरीरलाई अड्याउने रिडको हड्डीमा सुषुम्ना नाडीको दायाँ पिङ्गला नाडी र बायाँ इडा नाडी रहेको हुन्छ। पिङ्गला र इडा नाडीमा वायु तत्वको प्रधानता हुन्छ भने सुषुम्ना नाडीमा जीवन ज्योति शक्ति रहेको हुन्छ। सुषुम्ना नाडीमा सात वटा प्रमुख चक्र (शक्ति केन्द्र) रहेको हुन्छ। मानव शरीरभरि करिब यस्ता १०८ वटा अन्य चक्र (शक्ति केन्द्र) रहेका हुन्छन्। जसले जन्मदेखि मृत्युपर्यन्तसम्म हामीभित्र रहेका अङ्ग र सेललाई स्वचालित रूपमा सञ्चालन गर्न शक्ति प्रदान गर्छ। यी शक्ति केन्द्र सूक्ष्म शरीरका अङ्ग भएका कारण स्थुल शरीरमा भएको हाम्रो बाहिरी चक्षुले देख्न सक्दैन। यिनीहरूको अस्तित्व साधकले मात्र भित्री नेत्रले देख्न र जागृत चेतनाले मात्रै महसुस गर्न सक्छन्। 

विश्वको जनसङ्ख्या वल्र्डवोमिटरका अनुसार आठ अर्ब तीन करोडभन्दा माथि छ। यो जनसङ्ख्याको करिब १० प्रतिशत डिप्रेसनबाट ग्रसित छन्। त्यस्तै विश्वमा एक वर्षमा करिब चार लाख ९१ हजार व्यक्तिले आत्महत्या गरेको तथ्याङ्कले देखाउँछ। डिप्रेसन ग्रसित रोगीको मानसिक उपचार र आत्महत्याको प्रयासलाई कम गराउन पूर्वीय दर्शन र विज्ञान भैरवतन्त्रको ध्यान विधि एउटा अचुक उपाय हुने देखिन्छ। विज्ञान भैरवतन्त्र विश्वमा चलेका र साधना गरिने ध्यानको मूलस्रोत हो। यो दस्ताबेज करिब पाँच हजार वर्षअगाडि फेला परेको भन्ने भनाइ छ। 

कुण्डलिनी जागरण साधना गर्न चाहने साधकले घटीमा २१ दिन अगाडिदेखि केही नियम पालना गर्नु पर्छ। सोमध्ये ब्रह्मचर्य प्रमुख छ। यसबाहेक मद्यपान, धूमपान र सुर्तीजन्य पदार्थको साथै मांसाहार त्याग गरी सात्त्विक  भोजन गर्नु पर्छ। यी नियम पालना गरिसकेपछि एउटा योग्य गुरुको निगरानीमा मात्रै कुण्डलिनी जागरण साधना सात, १४, २१ र ५१ दिनसम्म गर्न सकिन्छ। कुण्डलिनी जागरण भएपश्चात् योग साधना गर्ने व्यक्ति आफैँले एक्लै गर्नु बढी फलदायी हुन्छ। कुण्डलिनी जागरणको ध्यान ब्रह्ममुहूर्तमा अभ्यास गर्नु पर्छ। सबैभन्दा पहिला मूलाधार चक्रबाट यो ध्यानको साधना सुरु गरी मूलाधार चक्रमा सुषुप्त अवस्थामा रहेको जीवन ऊर्जालाई जागृत गराई क्रमशः स्वादिष्ठान चक्र हुँदै सहस्रार चक्रसम्म पु¥याउनु पर्छ। 

सफा, पवित्र स्थानमा सहज आसनमा, ज्ञान वा ध्यान मुद्रामा, आँखालाई कोमल बन्द गरेर, आनन्दित भावले बस्ने, आइरहेको र गइरहेको प्रश्वासलाई ध्यान दिने। आफ्नो शरीर बाहिर र भित्र के कस्ता परिवर्तन, कम्पन, रक्त प्रवाह भइरहेको छ त्यसको बोध गर्ने। मूलाधार चक्रको रङ रातो हुन्छ। त्यसमा चारपाते कमलको फूल हुन्छ। यस फूलमा भगवान् गणेश विराजमान हुनुभएको छ। यसको बीजमन्त्र लं हो। मूलाधार चक्र पृथ्वी तत्व हो, यही धारणा बनाई एकनासले मूलाधार चक्रमा ध्यान केन्द्रित गर्ने। आइरहेको श्वास, कुम्भक, बाहिरिने प्रश्वास र बाहिरी कुम्भकलाई पनि बोध गर्ने। यस चक्रमा पाँचदेखि २५ मिनेटसम्म ध्यान केन्द्रित गर्ने। यसमा आउने परिवर्तन, कम्पन, रक्त प्रवाहलाई बोध गर्ने। सुरु सुरुका दिनमा यी केही कुरा पनि बोध नहुन सक्छन्। बोध नभए पनि उक्त स्थानमै ध्यान केन्द्रित गरिरहने। बिस्तारै मूलाधार चक्रबाट ऊर्जा आफ्नो काल्पनिक तीन मुठीमाथि रहेको स्वदिष्ठान चक्र, जुन हाइपोग्यास्ट्रिक प्लेक्समा रहेको हुन्छ, त्यसैमा ध्यानमा मन राख्ने। 

आउने जाने श्वास प्रश्वासमा ध्यान केन्द्रित गर्ने। स्वादिष्ठान चक्र फुस्रो वा सुन्तला रङको हुन्छ। यसमा छपाते कमलको फूल हुन्छ; जसमा ब्रह्मा विराजमान हुनुहुन्छ। यसको बीजमन्त्र वं हो। यसले जल तत्वको प्रतिनिधित्व गर्छ। यसमा पाँचदेखि २५ मिनेटसम्म ध्यान केन्द्रित गरी श्वास प्रश्वासलाई समेत बोध गर्ने। स्वादिष्ठान चक्रमा आउने हलचललाई महसुस गर्ने, त्यहाँ कुनै कम्पन, बढ्दो रक्त प्रवाह वा चिसो तातो के भइरहेको छ, सो को निगरानी गर्ने। त्यस्तै त्यहाँबाट पनि जीवन ऊर्जा काल्पनिक तीन मुठीमाथि सोलार प्लेक्समा रहेको मणीपुर चक्रमा प्रवेश गरेको धारणा बनाउने। 

मणीपुर चक्र पाकेको केरा जस्तो पहेँलो रङको हुन्छ। यसमा १० पाते कमलको फूल हुन्छ। यस फूलमा विष्णु भगवान् विराजमान गर्नुभएको महसुस गर्ने। यसको बीजमन्त्र रं हो। यसले अग्नि तत्वको प्रतिनिधित्व गर्छ। शान्त र आनन्दित भावले यसै चक्रमा मनलाई अड्याइराख्ने। मनमा आउने र जाने भावनालाई साक्षी भावले मात्रै हेर्ने। त्यहाँ के कस्तो कम्पन र परिवर्तन आउँछ, त्यसलाई बोध गर्ने। यहाँ पनि पाँचदेखि २५ मिनेटसम्म एकनासले ध्यान केन्द्रित गर्ने र जीवन ऊर्जा पुनः काल्पनिक तीन मुठीमाथि कार्डिक प्लेक्समा रहेको अनाहत चक्रमा एकत्रित भएको बोध गर्ने। 

अनाहत चक्र हरियो रङको हुन्छ। यसमा १२ पाते कमलको फूल हुन्छ। यस फूलमा गौरीशङ्कर भगवान् वा अर्धनारेश्वर विराजमान हुनुभएको बोध गर्ने। यसको बीजमन्त्र यं हो। यसले वायु तत्वको प्रतिनिधित्व गर्छ। यसमा पनि पाँचदेखि २५ मिनेटसम्म ध्यान केन्द्रित गरिरहने। जीवन ऊर्जा अनाहत चक्रबाट पुनः तीन मुठीमाथि कारोटिट प्लेक्समा रहेको विशुद्धि चक्रतर्पm अगाडि बढी केन्द्रित भएको महसुस गर्ने। 

विशुद्धि चक्र आकासे निलो रङको हुन्छ। यसमा १६ पाते कमलको फूल हुन्छ। यस फूलमा सरस्वती माता विराजमान हुनुहुन्छ। यसको बीजमन्त्र हं हो। यसले आकाश तत्वको प्रतिनिधित्व गर्छ। आनन्दित र प्रशन्न भावले यही चक्रमा पाँचदेखि २५ मिनेट ध्यान केन्द्रित गर्ने। आइरहेको गइरहेको श्वास प्रश्वासलाई हेर्ने। विशुद्धि चक्रमा परेको प्रभावको महसुस गर्ने। विशुद्धि चक्रबाट जीवन सञ्चालन शक्ति तीन मुठीमाथि मेडालुण प्लेक्स अथवा दुई नेत्रको बिचमा भएको आज्ञा चक्रमा केन्द्रित भएको बोध गर्ने।  आज्ञा चक्र प्याजी रङको हुन्छ। यसमा दुईपाते कमलको फूल हुन्छ। यस फूलमा आफ्नो गुरु विराजमान हुनुभएको बोध गर्ने। यसको बीजमन्त्र ॐ हो। पाँचदेखि २५ मिनेट यही चक्रमा ध्यान केन्द्रित गरी त्यहाँ आएका परिवर्तनलाई बोध गर्ने। श्वास प्रश्वासमा ध्यान केन्द्रित गरिरहने। यस केन्द्रमा जम्मा भएको शक्ति पनि फेरि तीन मुठीमाथि सेरेब्रल ग्ल्यान्डमा रहेको सहस्रार चक्रमा केन्द्रित भएको महसुस गर्ने। 

कुण्डलिनी जागरण भए, नभएको जान्ने पहिलो द्रष्टा तपाईं स्वयम् हुनुहुन्छ। तपाईं  ध्यानमा मग्न हुनुहुन्छ। तपाईंभित्र अनन्त आनन्द एकनासले प्रवाह भइरहन्छ। शरीरभित्र र बाहिर आउने परिवर्तन र प्रत्येक श्वास, प्रश्वास र कुम्भकप्रति सजग हुनुहुन्छ। तपाईं शान्त, सकारात्मक, पराया र आफन्तजनप्रति समान भाव राख्नुहुन्छ। तपाईंको दैनिक जीवन लयमा चल्छ। आहार, मनोरञ्जन, निद्रा, सजगता, आफ्नो दैनिक क्रियाकलापप्रति तपाईं  सजग र सचेत हुनुहुन्छ। बेहोसीमा कुनै कार्य गर्नु हुँदैन भने यी माथिका लक्षण कुण्डलिनी जागृत भएका प्रमाण हुन्। योग साधकले तपाईंको सिर्जनशील शक्ति, मुहारको चमक, कर्तव्यपरायणतालाई देखेर तपाईंको कुण्डलिनी जागृत भए, नभएको विश्लेषण गर्न सक्छन्। 

लेखक नेपाली सेनाका अवकाशप्राप्त महासेनानी हुनुहुन्छ।

  

Author

दीपककुमार अधिकारी