• १३ पुस २०८१, शनिबार

मेलम्चीप्रति दिगो भरोसा

blog

काठमाडौँ उपत्यकामा विद्यमान खानेपानी अभावको दिगो एवं दीर्घकालीन रूपमा समाधान गर्ने लामो समयदेखिको चुनौती हो । यो चुनौती सामना गर्दै काठमाडौँ, मेलम्ची र मण्डन उपत्यकाका बासिन्दाको स्वास्थ्य स्थिति तथा जीवनस्तर सुधार ल्याउन सहयोग पु-याउने उद्देश्यले मेलम्ची खानेपानी आयोजना निर्माण गरिएको हो । कुल ३५ अर्बभन्दा बढी रुपियाँ र २१ वर्ष लगाएर मेलम्चीको पानी काठमाडौँ उपत्यकाका धारामा खसाउन थालिएको छ । पहिलो चरणको लक्ष्य अनुरूप दैनिक १७ करोड लिटर पानी सुरुङमार्फत सुन्दरीजलमा ल्याएर घरघरका धारामा पठाइएको छ । दोस्रो चरण अन्तर्गत याङ्ग्री र लार्केबाट १७–१७ करोड लिटर पानी सुरुङमार्फत नै यसमा मिसाएर काठमाडौँ उपत्यकामा यो आयोजनाबाट दैनिक ५१ करोड लिटर पानी आपूर्ति गर्ने लक्ष्य छ तर पहिलो चरणकै योजना सम्पन्न हुन सकेको छैन भने दोस्रो चरणको कामलाई कति दशक लाग्ने हो भन्ने पानी प्यासीहरूको स्वाभाविक प्रश्न छ । यस्तो अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गरी याङ्ग्री र लार्केको काम तदारुकतासाथ अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

आर्थिक वर्ष २०५८/५९ (सन् २००१) मा मेलम्ची आयोजनाको काम सुरु गर्नुपूर्व जग्गाप्राप्ति, पुनर्बास, क्षतिपूर्ति, पहुँच सडक निर्माण आदिमा देखिएका विविध व्यवधानका कारण तोकिएको समयमा काम सुरु हुनै सकेको थिएन । सन् २००७ मा काठमाडौँमा मेलम्चीको पानी ल्याउने लक्ष्य निर्धारण गरिए पनि सन् २०२१ (विसं २०७७) मा मात्र मेलम्चीको पानी पहिलो पटक काठमाडौँका धारामा झरेको थियो । २०७७ चैत २० मा राष्ट्रपतिबाट उद्घाटन भएको यो आयोजनाको मुख्य बाँध क्षेत्र, सुरुङ र तटीय क्षेत्र २०७८ को असार पहिलो साता आएको बाढीपहिरोले तहसनहस पारेको थियो । बर्खा सकिएपछि मुहान क्षेत्र मर्मत गरेर चैतदेखि आयोजना पुनः सञ्चालन गरिएको थियो । 

विगतमा बाढीले कल्पना नै नगरिएको क्षति ग-यो तर प्राविधिकले समयमै पानी बन्द गरेर सुरुङमा गेगर भरिने खतराबाट जोगाए । अब एकातिर पहिलो चरणकै योजनाको काम फत्ते गर्नु छ भने दोस्रो चरण अन्तर्गत याङ्ग्री र लार्केको काम गर्नुपर्ने छ । यी काम गर्दा त्यस क्षेत्रको भौगोलिक संवेदनशीलता बुझेर संरचना निर्माण गर्नुपर्ने शिक्षा प्राप्त भएकै छ । साथै यस्ता योजना निर्माण सम्पन्न भयो भनेर राज्य त्यसबाट पन्छिन नहुने अर्थात् भइपरी आउन सक्ने विपत्ति वा अन्य व्यवस्थापकीय कार्यका लागि आकस्मिक रकम स्रोत र कार्य संयन्त्र तम्तयार अवस्थामा राखिनुपर्ने शिक्षा पनि प्राप्त भएको छ । 

मेलम्ची आयोजनाबाट साबिकका १४ गाउँ विकास समिति (हाल एक नगरपालिका र नौ गाउँ विकास समिति) का बासिन्दा प्रभावित छन् । यो आयोजनाले काठमाडौँ उपत्यकावासीको पानी आवश्यकता सम्बोधन गर्ने मात्र होइन, मेलम्ची र मण्डन उपत्यकावासीको जनस्वास्थ्य र जीवनस्तरमा सुधार ल्याउने उद्देश्य पनि समानान्तर छ । यो उद्देश्य प्राप्तिका लागि ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम (साउका) अन्तर्गत शिक्षा, स्वास्थ्य, ग्रामीण विद्युतीकरण, आयआर्जन, सामुदायिक विकास कार्यक्रम, ह्योल्मो मुहान क्षेत्र वातावरण व्यवस्थापन कार्यक्रम सञ्चालनमा छन् तर भूकम्प, बाढीपहिरोलगायत प्रकोपको सामना गरिरहनु परेको त्यस क्षेत्रका बासिन्दाका प्रशस्त गुनासा छन् । काठमाडौँका मान्छेलाई सहयोग गरेका ती जनताको आवाज पनि सुन्नुपर्ने आवश्यकता प्रधानमन्त्रीले देख्नुभएको छ । प्रभावित जनताको पिर, मर्कामा जति क्षतिपूर्ति हुनुपर्ने हो त्यो केन्द्रीय सरकारबाट हुन नसकेको, सडकको कमजोर अवस्थालगायत विषयमा प्रधानमन्त्रीको गम्भीरता व्यवहारमा अपेक्षित छ । 

बर्सेनि जनघनत्व बढिरहेको र भूमिगत पानीस्रोत घटिरहेको काठमाडौँ उपत्यकावासीलाई खानेपानीको समस्याबाट मुक्त गर्ने धेरै संवेदनशील कुरा हो । मेलम्ची, याङ्ग्री र लार्केखोलाको पानी ल्याएपछि पनि यहाँ पानीको सहज आपूर्ति नहुने हुँदा अन्य वैकल्पिक योजनाको खोजी र चर्चा हुन थालेको छ । विकल्पको तयारीमा तदारुकता अपेक्षित छ । सम्भाव्य पानीस्रोत उपत्यकाका बाहिरै छन्, ती उपलब्ध गराउन स्थानीयवासी तयार हुनुपर्ने छ । उनीहरूले त्यो पानीबापत के लाभ पाउने ? लाभको सुनिश्चित कसरी हुने ? यो विश्वास राज्यले दिलाउनुपर्ने छ । राज्यप्रति विश्वासको आधार मेलम्ची जस्तै राष्ट्रिय गौरवका योजनाहरूमा भनिएका र गरिएका कामहरू हुने छन् । कुनै पनि आयोजनाले स्थानीयलाई नकारात्मक असर पार्नेभन्दा सकारात्मक प्रभाव पारी जीविकास्तर उकास्न योगदान पु-यायो भने नै प्राकृतिक स्रोतको लाभ बाँडचुँड गरी विकास र समृद्धिको बाटोमा लाग्ने प्रोत्साहन मिल्ने छ । मेलम्चीले त्यो भरोसा दिन सक्नु पर्छ ।