• ३ फागुन २०८२, आइतबार

मोरङ–१ मा ठुला दलबिच प्रतिस्पर्धा

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, फागुन ३ गते  । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले) ले आलोपालो जित्दै आएको मोरङको निर्वाचन क्षेत्र नं. १ मा यस पटक विभिन्न राजनीतिक दलका उम्मेदवारबिच रोचक प्रतिस्पर्धा हुने भएको छ । २०७९ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा यहाँ नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र्र) बिच गठबन्धन थियो । प्रदेश सभाका दुवै निर्वाचन क्षेत्र गुमाएको गठबन्धनले प्रतिनिधि सभामा भने कांग्रेसका मोरङ सभापति डिगबहादुर लिम्बूलाई विजयी गराएको थियो । 

लिम्बूले एमालेका घनश्याम खतिवडालाई ४३० मतले पछाडि पार्नुभएको थियो । यद्यपि मोरङ १ मा समानुपातिक मत कांग्रेसभन्दा एमालेले करिब १० हजार बढी प्राप्त गरेको थियो । २०७४ मा कांग्रेसका लिम्बू नै एमालेका घनश्याम खतिवडासँगै हार्नुभएको थियो । २०७४ सालमा माओवादी र एमालेबिच गठबन्धन थियो । विगतको मत विश्लेषण गर्ने हो भने जसले माओवादीको मत पायो उसैले चुनावमा जित हासिल गरेको देखिन्छ । 

स्थानीय तहमा पनि कांग्रेस र एमालेले आलोपालो चुनाब जितेका छन् । २०७४ सालमा चार पालिकामध्ये तीन वटामा कांग्रेसले प्रमुख तथा अध्यक्ष जितेको थियो भने एमालेले एक गाउँपालिकामा जित निकालेको थियो । २०७९ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसले जितेका उर्लाबारी, लेटाङ नगरपालिका र केराबारी गाउँपालिकामा एमालेले नतिजा उल्टायो भने एमालेले जितेको मिक्लाजुङ गाउँपालिकामा कांग्रेसले नतिजा उल्टायो । 

चार पालिकाका ३७ वडा रहेको यस निर्वाचन क्षेत्रमा २०७९ सालको स्थानीय चुनावमा एमालेले २१ वडामा, कांग्रेसले १३ वडामा र  तत्कालीन माओवादी केन्द्रले तीन वडामा चुनाव जितेका थिए । वडाध्यक्षले पाएको मत हेर्ने हो कांग्रेस र एमालेबिच ठुलो मतान्तर देखिँदैन । कांग्रेसका वडाध्यक्षले ३१ हजार ४१३ मत पाएका थिए भने एमालेका वडाध्यक्षले ३३ हजार २५ मत पाएका थिए । स्थानीय तहको निर्वाचनमा कांग्रेसभित्र गुटगत विवाद चरमोत्कर्षमा थियो भने एमालेभित्र एउटा वडामा मात्रै विवाद थियो । तीन वडा जितेको माओवादी केन्द्रले ३७ वडाबाट छ हजार ६६६ मत पाएको थियो तर अहिले परिस्थिति बदलिएको छ । 

कांग्रेस, एमाले आफ्ना परम्परागत मत जोगाउन सव्रिmय छन् भने रास्वपा र श्रम संस्कृति पार्टी आव्रmमक ढङ्गले प्रचारमा जुटेका छन् ।

नेपाली कांग्रेसले कोशी प्रदेश सहमहामन्त्री खड्गबहादुर फागोलाई उम्मेदवार बनाएको छ । २०७४ सालमा उर्लाबारी नगरपालिकाका प्रमुख विजयी भएका फागो २०७४ सालमा नगरप्रमुखमा पराजित हुनुभयो । हाल पार्टीलाई एक ढिक्का बनाएर अघि बढेको बताउँदै फागोले आफ्नो प्रतिस्पर्धा मोरङ–१ का समस्यासँग रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ थुप्रै नीतिगत सुधारको आवश्यक छ । बजेट भएर मात्र विकास हुन्न । कडा कानुन पनि चाहियो । कार्यान्वयन तह फितलो छ । अबको हाम्रो एजेन्डा सुशासनका लागि नीतिगत सुधार हो ।” उहाँले ठेक्का लागेका योजना बिचमै छाडेर भाग्ने निर्माण कम्पनीलाई कारबाही नहुने, ठेकदारले प्रशासन सञ्चालन गर्ने जस्ता बेथिति अन्त्य नै आफ्नो एजेन्डा भएको बताउनुभयो ।

एमाले उम्मेदवार घनश्याम खतिवडाले यो पटक एमालेले आफ्नो पुरानो विरासद फर्काउने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “तत्कालीन लेटाङ गाविसको अध्यक्ष भएदेखि नागरिकसँग जोडिएको हुँ । पार्टीको बलियो सङ्गठन एमालेले विस्तार गरेको सडक सञ्जाल, विद्युतीकरण र खानेपानी विस्तार नै चुनाव जित्ने प्रमुख आधार हुन् ।” एमालेको कोशी प्रदेश अध्यक्षसमेत रहेका खतिवडाले सरकारी संरचना जलाउने र बनाउनेबिचको लडाइँ भएकाले बनाउने पक्षलाई मतदाताले जिताउने उल्लेख गर्नुभयो ।

नेपाली कम्युनिस्ट पार्टीबाट पूर्वप्रदेश सभा सदस्य कुलप्रसाद साम्वा उम्मेदवार हुनुहुन्छ । सांसद बन्दा गाउँ गाउँमा विकास बजेट ल्याएर सडक, बिजुली, खानेपानी र स्वास्थ्यको पहुँच विस्तार गरेको र सोही कामलाई निरन्तरता दिने उहाँको भनाइ छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले यज्ञमणि न्यौपानेलाई उम्मेदवार बनाएको छ । झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव लड्ने तयारीमा रहेका न्यौपाने बालेन्द्र शाहको झापा क्षेत्र नं. ५ मा इन्ट्री भएपछि छिमेकी मोरङ–१ मा आउनुभएको हो । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नदेखिँदा पनि रास्वपाले प्रत्यक्षमा आठ हजार ६३ र समानुपातिकमा नौ हजार ७७४ मत पाएको थियो । उम्मेदवार न्यौपानेले भन्नुभयो, “म बाहिरबाट आएको उम्मेदवार होइन ।” झापा क्षेत्र नं. ५ र मोरङ क्षेत्र नं. १ वारिपारि भएको र मोरङ क्षेत्र नं. १ का मतदाताको माग भएपछि आफू आएको बताउनुभयो । कानुन पृष्ठभूमिका न्यौपानेले लहर मात्रै नभएर सुशासन र भ्रष्टाचार अन्त्यका लागि मतदाताले नयाँलाई अवसर दिने दाबी गर्नुभयो । 

श्रम संस्कृति पार्टीबाट शान्ति पाख्रिन लामा उम्मेदवार हुनुहुन्छ । नेकपा (एमाले), नेकपा (एस) हुँदै श्रम संस्कृति पार्टीमा लागेकी लामा स्थानीयस्तरमा लोकप्रिय मानिनुहुन्छ । गत स्थानीय निर्वाचनमा तत्कालीन नेकपा (एस) बाट लेटाङ नगरपालिकाको उपप्रमुखको उम्मेदवार बनेकी लामाले एक हजार ६६७ मत प्राप्त गर्नुभएको थियो । सामुदायिक वन, महिला सशक्तीकरण र महिलाका अधिकार स्थापना गर्न बहस पैरवी गर्दै आएकी पाख्रिनले मोरङ १ को भूगोलले आफूलाई चिनेको र मतदाताले जिताउने बताउनुभयो । 

मोरङको करिब आधा भूगोल समेटिएको मोरङ क्षेत्र नं. १ मा दुई नगरपालिका लेटाङ, उर्लाबारी र दुई गाउँपालिका केराबारी र मिक्लाजुङ पर्छन् । एक लाख २८ हजार ५४५ मतदाता रहेको मोरङ क्षेत्र नं. १ मा पाँच स्वतन्त्रसहित १८ जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ ।