• ३ फागुन २०८२, आइतबार

अनाथ बालबालिकालाई सहयोग

blog

सहयोग पश्चात् सामूहिक लिइएको सामूहिक तस्बिर ।

यज्ञप्रसाद सापकोटा

गुलरिया (बर्दिया), फागुन ३ गते । बर्दियामा नेपाली सेनाको २६३ औँ वार्षिकोत्सवको अवसरमा मधुवन नगरपालिका –१ पत्थरबोझीमा रहेको बालबालिका संरक्षण केन्द्रलाई खाद्यन्न, खेलकुद र स्टेशनरी सामग्रीको सहयोग गरिएको छ । 

बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ जबरजंग गणले सरस्वती आधारभूत विद्यालयले अनाथ तथा असहाय बालबालिकाको लागि सञ्चालन गरेको संरक्षण केन्द्रलाई सहयोग गरेको हो । संरक्षण केन्द्रमा हाल ३५ जना बालबालिका छन् । 

गणका गणपति दिपेन्द्र शाहीले स्थापना दिवसको अवसर पारेर दैनिक भान्सामा प्रयोग हुने दाल, चामल, चिनी, मसला, तेल लगायतको सामग्री, खेलकुद सामग्री र स्टेशनरी सामग्री हस्तान्तरण गरिएको बताउनुभयो । 

बर्दिया राष्ट्रिय निकुञ्जमा संरक्षण अधिकृत एवं सूचना अधिकारी सरोजमणि पौडेलले नेपाली सेनाले अनाथ र असहायको बालबालिकाको आवश्यकतालाई पहिचान गरी सहयोग गरेर उत्तम कार्य गरेको बताउनुभयो । 

विद्यालयका शिक्षक ताराप्रसाद वलीले विभिन्न निकायहरूले सहयोग गरेको गर्दा संरक्षण केन्द्र सञ्चालनमा सहज हुने बताउनुभयो । उहाँका अनुसार विद्यालयका बालबालिकालाई विभिन्न व्यक्ति, संघ–संस्था, सरकारी निकायहरुले सहयोग गर्दै आएका छन् ।