काठमाडौँ, वैशाख १३ गते । कालिका माविले खुला विद्यालयस्तरीय फाइभ ए साइड पुरुष तथा महिला हक्की प्रतियोगितामा दोहोरो उपाधि जितेको छ । कालिका छात्रछात्रा दुवैमा विजेता भयो ।
भक्तपुर जिल्ला हक्की सङ्घको आयोजनामा मिडभ्याली कलेजमा भएको प्रतियोगिताको छात्रछात्रा दुवैमा गुण्डु इङ्लिस स्कुल दोस्रो र जनता मावि तेस्रो बने । दुवैतर्फ शीर्ष तीन स्थान हात पार्नेले क्रमश: १० हजार, पाँच हजार र २५ सय रुपियाँ पुरस्कार पाए ।
कालिकाका मोहन विक उत्कृष्ट खेलाडी, रोमन राणा उत्कृष्ट गोलरक्षक, जनताका अमितकुमार महतो उत्कृष्ट डिफेन्डर तथा कालिकाका मोहन पुन र विवेक विक (दुवै १४ गोल) सर्वाधिक गोलकर्ता बन्नुभयो ।
छात्रातर्फ कालिकाकी रोजिना राणा उत्कृष्ट खेलाडी, जनताकी प्रियाकुमारी राय उत्कृष्ट गोलरक्षक, कालिकाकी राइसा खातुन उत्कृष्ट डिफेन्डर र जनताकी प्रीति दास (१२ गोल) सर्वाधिक गोलकर्ता चुनिनुभयो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठलगायतले पुरस्कृत गर्नुभयो ।