काठमाडौँ, वैशाख १३ गते । सहरी विकास मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा बसोवास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिएको छ । मन्त्रालयले आइतबार एक प्रेस नोट जारी गर्दै नागरिकको सुरक्षाका लागि स्थानान्तरण प्रक्रिया सहज रूपमा अघि बढिरहेको जनाएको हो ।
मन्त्रालयका अनुसार सहारा नभएका र वास्तविक समस्यामा परेका नागरिकका लागि अर्को व्यवस्था नभएसम्मका लागि विभिन्न होटल तथा लजमा बस्ने र खाने लगायतका आधारभूत सुविधाको प्रबन्ध मिलाइएको छ । स्थानान्तरणका क्रममा कुनै समस्या परेमा वा सहयोग आवश्यक भएमा कार्यक्षेत्रमा खटिएका सुरक्षाकर्मीसँग सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
स्थानान्तरणलाई व्यवस्थित बनाउन नागरिकहरूको सामान ढुवानीको जिम्मा नेपाल प्रहरीले लिएको छ । मन्त्रालयका अनुसार नागरिकका सामान सुरक्षित रूपमा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला पुर्याउने व्यवस्था मिलाइएको छ । त्यहाँ सामानको विस्तृत अभिलेख राखेपछि सम्बन्धित व्यक्तिलाई यातायातको साधनमार्फत तोकिएको होटल वा लजमा पुर्याइने छ ।
मन्त्रालयले नागरिकको धनमालको सुरक्षाप्रति प्रतिबद्धता जनाउँदै स्थानान्तरण कार्यमा सहयोग गर्न सबैमा आग्रह समेत गरेको छ । जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा सरेपछि नागरिकले तत्कालका लागि आवश्यक पर्ने खाना र आवासको चिन्ता लिनु नपर्ने मन्त्रालयको दाबी छ ।