सुधा देव
भारदह (सप्तरी), वैशाख १३ गते । सप्तरीको डाक्नेश्वरी नगरपालिकाका ३४६ परिवारलाई शनिबार जग्गाधनी प्रमाण (लालपुर्जा) वितरण गरिएको छ । नापी कार्यालय सप्तरीद्वारा वडा नं. ९ मा आयोजित एक कार्यक्रमबिच 'गाउँ ब्लक' मा बसोवास गर्दै आएका परिवारलाई जग्गाको स्वामित्व हस्तान्तरण गरिएको हो ।
डाक्नेश्वरी नगरपालिका–९, साविक पत्थरगाडा गाविसका ३४६ परिवारलाई पहिलो चरणमा लालपुर्जा वितरण गरिएको वडाध्यक्ष कर्णदेव चौधरीले जानकारी दिनुभयो । लामो समयदेखि थातथलोको प्रमाणपुर्जा नहुँदा समस्या झेल्दै आएका स्थानीय बासिन्दा जग्गाको आधिकारिक मालिक बनेपछि हर्षित भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि एवं प्रतिनिधिसभा सदस्य अमरकान्त चौधरीले लामो प्रतीक्षापछि लालपुर्जा वितरण गर्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले अन्य क्षेत्रमा पनि जग्गा नापीको कार्य सम्पन्न भइसकेकाले प्रक्रिया पुर्याएर बाँकी रहेका सबैलाई चाँडै पुर्जा वितरण गर्न नापी कार्यालयलाई सुझाव दिनुभयो ।
यसैगरी, नगरपालिकाका प्रमुख रामलखन मलाहले नगरपालिकाका अन्य क्षेत्रमा पनि नापीको काम सकिएको र चाँडै ती क्षेत्रका बासिन्दालाई पनि लालपुर्जा वितरण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा भूमि समस्या समाधान आयोगका विज्ञ सदस्य पञ्चदेव चौधरी, डाक्नेश्वरी नगरपालिकाका निवर्तमान प्रमुख शिवनारायण साह लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा नेपाल पत्रकार महासङ्घ सप्तरीका उपाध्यक्ष रामनारायण विश्वास लगायतका अतिथिहरूले पनि स्थानीयलाई लालपुर्जा वितरण गर्नुभएको थियो ।