• १३ वैशाख २०८३, आइतबार

रोशनलाई अग्रज तथा नायकलाई सुमन भोम्जन स्मृति पत्रकारिता पुरस्कार

blog

सम्माननित भएपछि पत्रकारद्वय ।

काठमाडौँ, वैशाख १३ गते । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको अग्रज खेल पत्रकारिता सम्मान २०८३ बाट वरिष्ठ खेलकुद पत्रकार रोशन सिंह राउत तथा सुमन भोम्जन स्मृति युवा पत्रकारिता पुरस्कारबाट नायक पौडेल पुरस्कृत हुनुभएको छ । 

मञ्चको २१औँ वार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहताले दुवै पत्रकारलाई सम्मान गर्नुभयो ।

अग्रज सम्मानसहित राउतलाई सम्मानपत्र र ३५ हजार रुपियाँ तथा पौडेललाई ल्यापटप पुरस्कार प्रदान गरिएको थियो । राउत तीन दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । सम्मानपनि राउतले सम्मान आफ्नो लागि अति विशेष रहेको र आफ्नै परिवारबाट पाएको बताउनुभयो । 

यसैगरी सुमन भोम्जन युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत युवा पत्रकार पौडेलले सम्मानले थप काम गर्ने  प्रेरणा र उत्साह मिलेको बताउनुभयो । सदस्य सचिव मेहताले पुरस्कृत पत्रकारलाई बधाई दिँदै मञ्चको साधारण सभाको सफलताको कामना गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहाल, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ, नेपाल ओलम्पियन सङ्घका अध्यक्ष दीपक विष्टले मन्तव्य व्यक्त गर्नुभएको थियो । सहभागीलाई मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले धन्यवाद दिनुभएको थियो ।