• १३ वैशाख २०८३, आइतबार

पूर्वाधार आयोजनाको म्याद थप गर्न कोशीका निर्माण व्यवसायीको माग

blog

निर्माण व्यवसायीहरूले आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्ना मागहरू सुनाउँदै । तस्बिरः शशिधर पराजुली

शशिधर पराजुली

विराटनगर, वैशाख १३ गते । पेट्रोलियम पदार्थ र निर्माण सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढेपछि कोशी प्रदेशका निर्माण व्यवसायीहरूले विकास आयोजनाहरूको ठेक्का म्याद थप गर्न सरकारसँग माग गरेका छन् । महँगीका कारण पुरानो दररेटमा काम गर्न नसकिने भन्दै व्यवसायीहरूले आयोजनाहरूको म्यादसँगै मूल्य समायोजनको समेत माग गरेका हुन् ।

निर्माण व्यवसायी महासङ्घ कोशी प्रदेशले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी वर्तमान परिस्थितिमा निर्धारित समयमा काम सम्पन्न गर्न असम्भव रहेको बताएको छ । व्यवसायीहरूका अनुसार इन्धन र निर्माण सामग्रीको मूल्यमा शतप्रतिशतसम्म वृद्धि हुँदा प्रदेशभरका साना–ठुला आयोजनाहरू ठप्प भएका छन् ।

महासङ्घका कोशी प्रदेश अध्यक्ष जनसेवक भण्डारीले इन्धनमा भएको मूल्यवृद्धिले निर्माण क्षेत्रमा गम्भीर सङ्कट निम्त्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय बजार र युद्धका कारण इन्धनको मूल्य बढिरहेको छ, यस्तो अवस्थामा समयमै काम सकिने अवस्था छैन । त्यसैले सरकारले बैँक ग्यारेन्टी र इन्सुरेन्सको अवधिसहित सबै ठेक्काको म्याद थप गर्नुपर्छ ।”

व्यवसायीहरूले ‘मूल्य समायोजन मार्गनिर्देशिका–२’ तत्काल जारी गर्नुपर्ने माग पनि राखेका छन् । बजारमा सामानको मूल्य बढे पनि नेपाल राष्ट्र बैँकको सूचकाङ्कमा मूल्य घटेको देखाइँदा आफूहरू मारमा परेको उनीहरूको गुनासो छ । सरकारले दुई महिनादेखि मौखिक आश्वासन मात्र दिएको तर ठोस निर्णय नगरेको महासङ्घको आरोप छ ।

महासङ्घका महासचिव रमेश कार्कीले राष्ट्रिय गौरवका आयोजनादेखि सडक कालोपत्रेका कामहरू इन्धन र अलकत्राको अभावमा रोकिएको जानकारी दिनुभयो । उहाँले काँकडभिट्टा–सीतापुरी सडक खण्डमा २२ किलोमिटर सडक कालोपत्रेका लागि तयारी अवस्थामा भए पनि इन्धन र सामग्री अभावले काम अघि बढ्न नसकेको उदाहरण दिनुभयो। 

निर्माण व्यवसायी महासङ्घ मोरङका अध्यक्ष महेश मिश्रले १३३ रुपियाँको डिजेलको मूल्य २०४ रुपियाँ पुग्दा पुरानै ठेक्का सम्झौता अनुसार काम गर्न नसकिने बताउनुभयो । सरकारले म्याद थप र मूल्य समायोजनमा ढिलाइ गरे निर्माण क्षेत्रमा आश्रित लाखौँ श्रमिक र उद्योगहरू सङ्कटमा पर्ने व्यवसायीले चेतावनी दिएका हुन् ।