• ३ फागुन २०८२, आइतबार

सरकारको नेतृत्व गर्ने गरी राजनीतिमा आएका हौँ : कुलमान घिसिङ

blog

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ।

काठमाडौँ, फागुन ३ गते । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्न चाहेको बताउनुभएको छ । आइतबार काठमाडौँमा पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्दै उहाँले देशको नेतृत्व गर्नकै लागि आफूहरू राजनीतिमा आएको बताउनुभएको हो ।

अध्यक्ष घिसिङले मुलुकका समग्र समस्या समाधानका लागि संसद्मा पुगेर आफ्नो पार्टीले सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । सरकारमा सहभागी भएपछि चुनावी घोषणापत्रमा उल्लेख गरिएका बुँदाअनुसार नै काम गर्ने उहाँले स्पष्ट पार्नुभयो ।

अध्यक्ष घिसिङले भन्नुभयो, “राजनीति गर्ने भनेकै सरकारको नेतृत्व गर्नका लागि हो । समाजमा देखिएका र देशका समस्या समाधानका लागि संसद्मा सशक्त प्रतिपक्षीका रूपमा पनि भूमिका खेल्न सकिन्छ । तर, हाम्रो मुख्य लक्ष्य सरकारको नेतृत्व गरेर आफ्ना प्रतिबद्धताहरू पूरा गर्नु नै हो ।”

उहाँले मुलुकको समृद्धिका लागि जलविद्युत् उत्पादनमा विशेष जोड दिइने समेत बताउनुभयो । उज्यालो नेपाल पार्टीले ऊर्जा क्षेत्रको विकासलाई आफ्नो प्रमुख एजेन्डा बनाएको उहाँको भनाइ थियो ।