काठमाडौँ, असार ४ गते । सामूहिक निर्णय अभाव, विचारभन्दा व्यक्तिविशेषको सर्वोच्चता, निजी सम्पत्तिको लोभ तथा सिद्धान्त अनुसारको चरित्र र व्यवहारमा आएको ह्रासका कारण मुलुकमा वामपन्थ सिद्धान्त ओरालो लाग्दै गरेको धारणा व्यक्त गरिएको छ।
नेपाल प्रज्ञाप्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाज (नार्स) द्वारा आइतबार यहाँ संयुक्त रूपमा आयोजित ‘किन ओरालो लाग्यो नेपाली वामपन्थ’ विषयक अन्तर्क्रियाका वक्ताहरूले सो धारणा व्यक्त गर्नुभएको हो। कार्यपत्र प्रस्तुत गर्दै वामपन्थी नेता हरि रोकाले वामपन्थी भनिएका राजनीतिक दलहरूमा सामूहिक निर्णय र जिम्मेवारीको पद्धति समाप्त हुँदै गएको तथा नेतृत्वको कामकारबाहीबारे फरकमत राख्ने तथा प्रश्न गर्ने कुनै पनि ‘क्याडर’ पार्टीमा टिक्न सक्ने अवस्था नरहेको उल्लेख गर्नुभयो।
आफूलाई वामपन्थी भन्न रुचि राख्ने राजनीतिक दलहरू सिद्धान्तविहीन, विचारविहीन तथा योजना र कार्यक्रमविहीन बन्दै गएको आरोप लगाउँदै उहाँले युवामा वामपन्थमाथिको आकर्षण, जुझारुपन तथा रूपान्तरणको हौसला घट्दै गएको चर्चा गर्नुभयो।नेकपा (माओवादी केन्द्र) का नेता लेखनाथ न्यौपानेले नेता र कार्यकर्तामा आएको विचलन, धन कमाउने महत्वाकाङ्क्षा तथा ढोङ र पाखण्डका कारण वामपन्थी विचारधारा धराशयी बन्दै गएको उल्लेख गर्नुभयो।
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष आहुतिले कम्युनिस्ट नेतृत्व तथा कार्यकर्तामा आएको अस्वाभाविक चारित्रिक परिवर्तनका कारण वामपन्थी आन्दोलनप्रतिको रुचि कम हुँदै गएको बताउँदै नाफा कमाउने व्यक्ति कम्युनिस्ट हुन नसक्ने धारणा व्यक्त गर्नुभयो।