• १० मंसिर २०८१, सोमबार

नेपाल–बेलायत सन्धिबारे चर्चा

blog

लन्डन, असार १ गते । नेपाल र संयु्क्त अधिराज्य (बेलायत) बिच भएको नेपाल–बेलायत मैत्री सन्धि, १९२३ एक सय वर्ष पूरा भएको अवसरमा लन्डनस्थित नेपाली राजदूतावासमा कार्यक्रम आयोजना गरिएको छ । 

नेपाली राजदूतावास र लन्डन स्कुल अफ इकोनोमिक्सको संयुक्त आयोजनामा भएको कार्यक्रममा लिड्स विश्वविद्यालयका अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक सूर्यप्रसाद सुवेदीले सन् १९२३ मा नेपाल र बेलायतबिच भएको सन्धिपछि नेपालले बेलायतबाट औपचारिक रूपमा स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्रको मान्यता पाएको प्रस्ट पार्नुभयो । यस आधारमा यस सन्धिको बेग्लै महत्व रहेको उहाँले चर्चा गर्नुभयो । 

विभिन्न समयमा भएका सन्धि सम्झौताको स्मरण गर्दै प्रा. सुवेदीले मैत्री सन्धिपछि नेपालले लन्डनमा दूतावासको स्थापना गरेको र संयुक्त राष्ट्रसङ्घको सदस्यता लिन पनि सन्धिले सहयोग गरेको उल्लेख गर्नुभयो ।

नर्थअम्ब्रिया विश्वविद्यालयकी प्राध्यापक डा. केटी ओभेनले नेपाल र बेलायतबिच भइरहेका विभिन्न आयोजना तथा परियोजनाबारे चर्चा गर्दै प्राकृतिक प्रकोपका समयमा बेलायतले गरेको सहयोग र अनुसन्धानबारे प्रकाश पार्नुभएको थियो । 

अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक डेभिड गेल्नेरले नेपाल र बेलायतले विभिन्न विषयमा अनुसन्धान गरेको स्मरण गर्दै नेपालमा भएका भौतिक पूर्वाधार, शिक्षा र सामाजिक परिवर्तनका विषयमा सहयोगका आयामबारे चर्चा गर्नुभयो । 

बेलायतका लागि नेपालका राजदूत ज्ञानचन्द्र आचार्य र लन्डन स्कुल अफ इकोनोमिक्सको दक्षिण एसिया केन्द्रका निर्देशक प्राध्यापक अलनुर भिमानीले नेपाल र बेलायतबिचको सम्बन्धमाथि प्रकाश पार्नुभएको थियो । 

कार्यक्रमा सहभागी नेपाली समुदायका विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा बेलायतका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीबिच अन्तरक्रिया पनि भएको थियो ।