• ७ पुस २०८२, सोमबार

आइपुगेन उपचार शोधभर्नाको विवरण

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस ७ गते । जेनजी आन्दोलनका घाइतेको उपचार गर्ने ८० अस्पतालमध्ये २३ वटा अस्पतालले मात्र उपचार खर्चको शोधभर्नाका लागि विवरण पठाएका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपत्कालीन तथा विपत् व्यवस्थापन एकाइ (एचइओसी) ले ८० वटै अस्पताललाई शोधभर्नाका लागि सम्पूर्ण विवरण पठाउन आग्रह गरेको थियो । 

एकाइका प्रमुख डा. प्रकाश बुढाथोकीले जेनजी घाइतेको उपचार गराएका अस्पताललाई उपचार खर्चको शोधभर्नाका लागि विवरण बुझाउन निर्देशन दिएको जानकारी दिनुभयो ।

उहाँले ८० मध्ये २३ वटा अस्पतालले मात्र विवरण पठाएकामा बाँकी अस्पताललाई विवरण पठाउन निर्देशन दिइएको जानकारी दिनुभयो । मङ्सिर महिनासम्मको विवरण पुस १० गतेभित्र पठाउनुपर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार बाँकी अस्पतालबाट विवरण आउन बाँकी छ । जेनजी घाइते बिरामी, आफन्तबाट गुनासो आइरहेकाले मन्त्रालयले यस्तो आग्रह गरेको हो । उहाँले ती अस्पतालले पठाएको विवरण अनुसार जाँचबुझ गर्ने काम स्वास्थ्य आपत्कालीन व्यवस्थापन एकाइले गरिरहेको बताउनुभयो । मन्त्रालयले उपचार खर्चको मात्र व्यवस्थापन गर्ने भन्दै उहाँले हवाई टिकट, ट्याक्सी भाडा, खाना, होटेललगायतको शोधभर्ना छ भने त्यस्तो बिल कटौती गरिने प्रस्ट पार्नुभयो । 

निःशुल्क उपचार गर्ने स्वघोषणापछि पूर्ण रूपमा निःशुल्क उपचार गरेका अस्पतालले पनि सोको विवरण मन्त्रालयमा पुस १० गतेभित्र पठाउनुपर्ने उहाँको भनाइ छ । जेनजी घाइते बिरामीको निःशुल्क उपचार गरेका अस्पतालले हालसम्म मन्त्रालयमा घाइते बिरामी तथा उपचारको विवरण नपठाएको भएमा वा घाइते बिरामीको विवरण फरक परेको भए या छुटेको भएमा आफ्नो दर्ता रजिस्टरको रेकर्ड रुजु गरी आधिकारिक पत्रसहित सो विवरण पुस १० गतेभित्र मन्त्रालयको इमेलमार्फत पठाउन अनुरोध गरेको हो । 

डा. बुढाथोकीले उपचारका क्रममा औषधी र व्यक्तिगत खर्च भएकाको हकमा उपचार गरेको अस्पताललाई नै घाइतेलाई खर्च प्रदान गर्न आग्रह गर्नुभयो । जेनजी घाइतेको परिचयपत्र लिएकाले मात्र स्वास्थ्य उपचार, राहत र वर्गीकरणमा समावेश हुने भएकाले जेनजी घाइते सबैलाई परिचयपत्रका लागि गृह मन्त्रालय वा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ । 

गृह मन्त्रालयबाट प्राप्त जानकारी अनुसार हालसम्म ७०३ जना जेनजी घाइतेले परिचयपत्र लिएको, ५४६ जनाले राहत प्राप्त गरिसकेको र २१० जना जेनजी घाइते वर्गीकरणका लागि समावेश भएकोमा १८३ जनाको वर्गीकरण भइसकेको छ ।