• ७ पुस २०८२, सोमबार

अनुदानका लागि प्रस्ताव मागियो

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, पुस ७ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै गाउँपालिका र नगरपालिकालाई आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घीय सरकारले स्थानीय तहलाई प्रदान गर्ने समपूरक अनुदान र विशेष अनुदानका लागि कार्यक्रमको प्रस्ताव पेस गर्न आग्रह गरेको छ । 

समपूरक अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२ र विशेष अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२ मा व्यवस्था भएबमोजिम प्रदेश सरकार र स्थानीय तहबाट प्रस्ताव आह्वान गरिएको हो । 

मन्त्रालयका अधिकृत प्रकाश पन्थीले आगामी माघ मसान्तभित्र समपुर र विशेष अनुदानका लागि प्रस्ताव पेस गर्न ७५३ वटै स्थानीय तहलाई आग्रह गरिएको जानकारी दिनुभयो । प्रस्ताव आगामी माघ मसान्तभित्र राष्ट्रिय योजना आयोगले सञ्चालनमा ल्याएको विद्युतीय प्रणालीमार्फत पेस गर्न मन्त्रालयले सबै स्थानीय तहलाई गरिएको परिपत्रमा उल्लेख गरिएको छ । 

सोही आधारमा माघ मसान्तभित्र समपूरक र विशेष अनुदानका लागि कार्यक्रम र आयोजना प्रस्ताव गर्नुपर्ने हुन्छ । संविधान अनुसार हरेक वर्षको जेठ १५ गते सङ्घीय सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ । 

सङ्घीय सरकारले जेठ १५ गते बजेट सार्वजनिक गरेपछि प्रदेश सरकारले असार १ गते र सबै स्थानीय तहले असार १० गतेभित्र आआफ्नो सभामा बजेट पेस गर्नुपर्ने अन्तरसरकारी वित्त व्यवस्थापन ऐनमा उल्लेख गरिएको छ ।