• ७ पुस २०८२, सोमबार

औद्योगिक नगरमा छैन प्रदर्शनी स्थल

blog

खाली जग्गामा व्यापार मेलाको तयारी । तस्बिर : नवराज कट्टेल

निजी खाली जग्गा खोज्दा उद्योगीलाई हैरान

नवराज कट्टेल

विराटनगर, पुस ७ गते । औद्यौगिक नगरी विराटनगरमा २०५३ यता कुनै न कुनै उद्योगी व्यापारीका छाता संस्थाले बर्सेनि व्यापार मेला आयोजना गर्दै आएका छन् । फरक फरक रूपमा स्थापना भएका छाता संस्थाले व्यापार मेला, औद्योगिक प्रदर्शनी, ट्रेड एक्स्पो, कृषि प्रदर्शनी जस्ता मेला आयोजना गरे पनि यसका लागि निश्चित स्थानमा प्रदर्शनी स्थल भने छैन । 

दिगो र स्थायी प्रदर्शनी स्थल नहुँदा विराटनगरमा आयोजना हुने व्यापार मेला खाली जग्गा खोज्दै आयोजना गर्नुपर्ने बाध्यता छ । हरेक वर्ष आयोजना हुने व्यापार मेला व्यक्तिका निजी जग्गामा लगाउनुपर्ने बाध्यता रहेको उद्योगी व्यवसायीको गुनासो छ । मोरङ उद्योग व्यापार सङ्घका अध्यक्ष अनुपम राठीले एउटा प्रदर्शनी स्थल नहुँदा बर्सेनि दुःख पाउनु परेको गुनासो गर्नुभयो । सङ्घले आगामी पुस ९ गतेदेखि १९ गतेसम्म व्यापार मेलाको तयारी गरिरहेको छ । यस पटकको व्यापार मेला विराटनगर–१ स्थित शान्ति चोकको खाली जग्गामा तयारी भइरहेको छ । 

उद्योगी व्यापारीले बर्सौंदेखि उठाएका मागमध्ये प्रदर्शनी स्थल पनि हो । प्रदर्शनी स्थल निर्माणका लागि महानगरपालिकाभित्र जग्गा उपलब्ध हुन कठिन हुँदा माग सम्बोधन गर्ने बाटो नदेखिएको हो । 

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशीका अध्यक्ष राजेन्द्र राउत आवश्यक भए पनि तीन तहका सरकारले ध्यान नदिएको आरोप लगाउनुहुन्छ । उहाँले केही वर्षअघिसम्म सहिद रङ्गशालामा औद्योगिक प्रदर्शनी गर्न सहज भए पनि अहिले त्यहाँ निषेध गरिएपछि असजिलो भएको बताउनुभयो । आवश्यकता खड्किएपछि त्यसको व्यवस्थापनमा चासो कम भएको राउतको बुझाइ छ ।

खाली जग्गामा बर्सेनि व्यापार मेला आयोजना गर्दा आयोजकको लागत बढ्ने गरेको छ । संरचना तयार पारेर व्यापार मेला आयोजना गर्दा बर्सेनि त्यसको प्रतिफल महसुस गर्न नपाउने अवस्था बनेकाले स्थायी संरचनासहितको प्रदर्शनी स्थलको माग गरिएको अध्यक्ष राठी बताउनुहुन्छ । 

उद्योग सङ्गठन मोरङका अध्यक्ष नन्दकिशोर राठीका अनुसार प्रदर्शनी स्थलका लागि विराटनगर–४ स्थित लक्ष्मीनारायण गुठीको दुई बिघा क्षेत्रफल जग्गा स्थानीय तह विराटनगर महानगरपालिकासँग सय वर्ष लिज सम्झौता भएको बताउनुहुन्छ । त्यहाँ प्रदर्शनी स्थल निर्माण गर्न भने नदिन राजनीतीकरण गरिएपछि रोकिनु परेको छ । 

उक्त क्षेत्रमा प्रदर्शनी स्थल निर्माणमा सहजीकरण गरिदिने हो भने निजी क्षेत्र सरकारसँग लगानी साझेदारी गर्न पनि तयार रहेको उहाँको भनाइ छ । प्रदर्शनी स्थलकै लागि सङ्गठनले विराटनगर–१४ स्थित स्नातकोत्तर क्याम्पसको जग्गा भाडामा लिएको उहाँले जानकारी दिनुभयो । 

अध्यक्ष राठीले प्रदर्शनी स्थलका लागि जग्गा सहजीकरण र केही बजेट व्यवस्थापन गर्न तीन तहका सरकारसँग बारम्बार गुहार माग्दासमेत सम्बोधन नभएको गुनासोसमेत गर्नुभयो । 

आगामी पुस ९ गतेदेखि १९ गतेसम्म आयोजना हुने व्यापार मेलाका संयोजक अमित शारडाका अनुसार स्थायी संरचना नहुँदा २५० स्टलका लागि संरचना बनाउनु पर्दा खर्च धेरै हुने देखिएको छ । विभिन्न कारणले सुस्त बनेको अर्थतन्त्र चलायमान बनाउन पनि औद्योगिक प्रदर्शनी आयोजना गर्नुपर्ने भए पनि तयारी व्यवस्थापनमै पाँच करोड रुपियाँ खर्च लाग्ने उहाँको भनाइ छ । तयारीमा खर्च बढ्दा स्टल बुकिङमा समेत बढी शुल्क लिनुपर्ने भएकाले यसको मार सबैतिर पर्ने उहाँले जानकारी दिनुभयो ।