• १२ साउन २०८१, शनिबार

कलङ्की–बालाजु–महाराजगञ्ज सडकको निर्माण काम सुरु

blog

चक्रपथ अन्तर्गत रहेको कलङ्की–बालाजु–महाराजगञ्ज सडकको साइड । तस्बिर : मनोजरत्न शाही

काठमाडौं,  जेठ ३१ गते । चक्रपथ अन्तर्गत रहेको कलङ्की–बालाजु–महाराजगञ्ज सडकको नेपाल पक्षले साइड क्लियर गरेपछि चिनियाँ पक्षले विस्तृत डिजाइनको काम सुरु गरेको छ । सडक विभागले सडक सीमा क्षेत्रभित्रका संरचना हटाएको सूचना दिएपछि चीन सरकारले डिजाइनको काम थालेको सडक विभागले जनाएको छ । सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालका अनुसार चिनियाँ पक्षले ६ महिना भित्रमा विस्तृत डिजाइनको काम सक्ने आश्वासन दिएको छ । 

उहाँले भन्नुभयो, “नेपालले साइड क्लियर नगरेसम्म सडक विस्तारको काम नथाल्ने चिनियाँ कम्पनीले जनाएको थियो । नेपालले हाल साइड क्लियर गरिसकेको छ । चिनियाँ पक्षले यसको विस्तृत डिजाइनको काम थालेपछि ६ महिनामा यसको काम सक्ने जनाएको छ । 


मंगलबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, नेपालका लागि चिनियाँ राजदूत चेन सङ्ले सडकको स्थलगत अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा मन्त्री ज्वालाले चक्रपथ सडक खण्डको दोस्रो चरणको कामका लागि चिनियाँ पक्षलाई धन्यवाद दिनुभएको थियो । यस्तै, नेपालका लागि चीनका राजदूत चेन सङ्ले दोस्रो चरणको काम चाँडै सुरु हुने आश्वासन दिनुभएको छ ।  

यस सडक खण्डबीचमा तीन मिटरको सेन्ट्रल मिडियनसहित चार–चार लेनको सडक रहने छ । सडकको दायाँबायाँ दुई–दुई मिटरको फुटपाथ सडक पनि रहने उहाँको भनाइ छ । चक्रपथ विस्तार गर्दा भविष्यमा बन्ने चक्रपथका कुनै आयोजनालाई सङ्कुचन नहोस् भन्ने तरिकाले काम हुने विभागका महानिर्देशक ढकालले बताउनुभयो । 


उहाँले भन्नुभयो, “अब चक्रपथ विस्तार गर्दा भविष्यमा चक्रपथका कुनै आयोजनालाई सङ्कुचन नहोस् भनेर काम थाल्न लागिएको छ । चिनियाँ पक्षले विस्तृत डिजाइनको काम सम्पन्न गरेलगत्तै डीपीआर निर्माण र ठेक्काको प्रक्रिया अघि बढाइने छ ।” 

कुल २७.२ किलोमिटर लम्बाइ रहेको चक्रपथमा कलङ्की–महाराजगञ्ज सडकखण्डमा ८.२ किलोमिटर लम्बाइ छ । चीन सरकारले यसअघि नै चक्रपथ आयोजनालाई तीन चरणमा विस्तार गर्ने प्रतिबद्धता जनाइसकेको छ । अव विस्तार हुने चक्रपथ आयोजनामा बालाजुमा फ्लाइओभर समेत निर्माण गरिने ढकालको भनाइ छ ।  

पहिले आयोजना अध्ययनका क्रममा कुनै पुलहरु निर्माण नहुने भनिए पनि पछि यसको फिजिभिलिटी अध्ययनका क्रममा बालाजुमा फ्लाइओभर निर्माण गर्ने योजना बनाइएको छ । यसोगर्दा पश्चिमतर्फबाट आउने सवारीसाधनलाई पुलमुनिबाट पास गर्न सहज हुने उहाँको भनाइ छ । यस्तै, वसुन्धरामा पनि एउटा पुल बन्ने छ । जसको तलबाट पनि गाडी आवत–जावत गर्न मिल्ने अण्डरपासको व्यवस्था हुनेछ । 


चक्रपथकै बाँकी महाराजगञ्ज–कोटेश्वर सडक विस्तारमा पनि चीनको चासो रहेको छ । जुन करिब नौ किलोमिटर लम्ब्याइएको छ । कलङ्की–महाराजगञ्ज सडक आयोजनाको सन् २०१७ सालमै ८ लेनको बनाउने सम्झौता भएको थियो । पछि कोरोना सङ्क्रमण बढेपछि काम सुरु हुन सकेको थिएन । पछि चिनियाँ पक्षले साइट क्लियर नभएको भन्दै साइट क्लियर गरेर मात्र काम थाल्ने जनाएको थियो । सोहीअनुसार नेपाली पक्षले सडक छेउछाउमा रहेका पोलहरू हटाउने तथा ढलहरूको व्यवस्थापन गर्ने कार्य सम्पन्न गरेको जनाएको छ । 


आगामी आर्थिक वर्ष २०८०–८१ मा यस सडक आयोजनाका लागि एक अर्ब ८१ करोड बजेट विनियोजन गर्ने घोषणा भएको  छ । तर यसको विस्तृत अध्ययन भइरहेकाले ठेक्कामा लाग्ने बेलामा मात्र यसको लागत कति लाग्ने भन्ने यकिन हुने ढकालको भनाइ छ ।


Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।