• २१ वैशाख २०८१, शुक्रबार

कुञ्जमा आवाज तथा भाषण कला प्रशिक्षण

blog

काठमाडौँ, जेठ ३१ गते । नेपाल सङ्गित तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आवाज तथा भाषण कला (भ्वाइस एन्ड स्पिच) कार्यशाला सम्पन्न भएको छ । थापागाउँ लेखन कुञ्जस्थित आरोहण गुरुकुलमा सञ्चालित कार्यशालामा वरिष्ठ नाट्य निर्देशक अनुप बरालले प्रशिक्षण दिनुभएको हो । उहाँका साथमा सहायक प्रशिक्षकका रूपमा देव न्यौपाने रहनुभएको थियो ।

कार्यशालाको समापनका क्रममा प्रशिक्षक बरालले कलाकारमा सधैँ तटस्थ हुने र आफूलाई स्विकार्ने गुण हुनुपर्ने बताउनुभयो । उहाँले प्रशिक्षार्थीहरूसँग भन्नुभयो, “तपाईंहरू सर्वप्रथम आफूलाई स्विकार्नुस् । अग्लो, होचो, कालो, गोरो, दुब्लो, मोटो जस्तो हुनुहुन्छ, त्यो सबै तपाईं हो, यो कुरालाई स्विकार्नुस् र अन्य बाह्य वातावरणप्रति तटस्थ रहनुहोस् ।”

कार्यशालाको समापनमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको कुलपति निशा शर्माको समेत उपस्थिति रहेको थियो । कार्यशालाको अनौपचारिक रूपमा समापन गर्दै उहाँले प्रशिक्षार्थीहरूलाई निरन्तर साधनामा लाग्न सुझाव दिनुभयो । उहाँले प्रशिक्षार्थीहरूसँग भन्नुभयो, “अभिनय भनेको धेरै ठुलो कुरो होइन तर तपाईंले महसुस र मनन गरेर पात्रको ठाउँमा आफूलाई राखेर आफूलाई विश्वास दिलाउन सक्नुपर्छ ।”

कार्यशालामा करिब ४३ जना प्रशिक्षार्थीलाई आवाज तथा भाषण कला (भ्वाइस एन्ड स्पिच) का बारेमा प्रशिक्षित गराइएको हो । सहभागी प्रशिक्षार्थीहरूले कार्यशालाबाट कलामा तटस्थताको महत्व, आफू तथा वातावरणको स्वीकार्य, भाषण र प्रस्तुति कला, आवाजको अभ्यासलगायत थुप्रै ज्ञान हासिल गरेको बताएका छन् । यसै वर्ष कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न भेगमा नाटक प्रशिक्षणलाई निरन्तरता दिनेसमेत उहाँले बताउनुभयो ।