शेरबहादुर कार्की
बाजुरा, पुस ६ गते । ए यो भुवो काँ जादो ? भस्सा रे भस्सा । ए दै केला खान, भस्सा रे भस्सा ।। ए भुवा ए भुवा भस्सा भस्सा भस्साइरे.... भस्सा ।। भुवापर्व सुरु गरेर भुवा छोड्ने बेला र गाउँमा भुवा माग्न जाने बेलामा भुवा र भस्सो खेल्नेले यो भाका वाचन गर्ने गर्छन् ।
बाजुरामा भुवापर्व खेल्न सुरु गरिएको छ । स्थानीयले ठुला मुढा बालेर भुवापर्व सुरु गरेका हुन् । बाजुराका विभिन्न ठाउँमा यसरी भुवापर्व खेल्न सुरु भएपछि जताततै भुवापर्वमा बजाइने दमाहा बाजाको निकै रौनकता छाएको छ । पुस महिनाको चतुर्दशी तथा औँसीको अघिल्लो रातबाट मुढा बालेर सुरु गरिने भुवापर्वलाई यहाँका स्थानीयले दौरासुरुवाल लगाउँदै हातमा ढाल तरबार समातेर भुवा खेल्न थालेपछि बाजुरामा भुवा भस्सोको रौनक छाउन थालेको छ । त्रेतायुगमा पाण्डव र कौरवबिचको लडाइँ सकिएपछि पाण्डव पक्षले जितको खुसियाली मनाएको दिनमा भुवापर्व मनाउने गरेको किंवदन्ती छ । यसै मान्यताका साथ सुदूरपश्चिमका विभिन्न जिल्लामा भव्य रूपमा मनाइने यो पर्व बाजुरावासीले यो वर्ष पनि हर्ष र उल्लासका साथ भुवापर्व मनाएका छन् । जिल्लाको बडीमालिका, बुढीगङ्गा, त्रिवेणी र बुढीनन्दा, गौमूल, खप्तड छेडेदह, स्वामीकात्तिक, हिमाली, जगन्नाथलगायतका स्थानीय तहका विभिन्न गाउँबस्तीमा यो भुवापर्व विशेष रूपमा मनाउने गरिन्छ । भुवापर्व सुदूरपश्चिमको एक विशेष पर्व हो ।
बाजुरको सबैभन्दा बढी भुवो वर्ष बुढीगङ्गा नगरपालिका–२ को ताँप्रामा मनाउने गदर्छन् । एक वर्ष भुवापर्व विशेष रूपमा मनाउने र फेरि अर्को दुई वर्षपछि भुवापर्व मनाउने गर्दछन् । यो वर्षमा गाउँमा ताँप्रोका भुवापर्व मनाउने भएकाले कामकाजका लागि भारतमा गएका स्थानीय गाउँमा आएर भुवा खेल्ने गरेको बुढीगङ्गा–२ का स्थानीय प्रेम रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै वर्षसम्म जागिरको सिलसिलामा गाउँमा आउन नपाएकाहरू अहिले भुवापर्व मनाउनकै लागि गाउँ फर्किएका छन् ।” पाण्डव र कौरवको लडाइँमा रात परेपछि उज्यालो आवश्यक भएकाले राँको सल्काई लडाइँ सुरु गरेको स्मरणमा स्थानीयले मध्यरातमै राँके जुलुस निकालेर भुवापर्व सुरु गर्ने गरेको ज्योतिष मेखराज जैशीले बताउनुभयो ।