काठमाडौँ, जेठ ३१ गते । नेपाल प्रहरीले विभिन्न मिति र स्थानबाट जफत गरेका छ हजार बेवारिसे हतियार नष्ट गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार नष्ट गरिएका हतियारमा भरुवा बन्दुक छ हजार १८९ थान, पेस्तोल ६४ थान, म्याग्नम एक थान, एयर गन एक थान र नाम नखुलेको १३ थान गरी छ हजार २६८ थान हातहतियार एकसाथ नष्ट गरिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, कोष तथा लेखा नियन्त्रण कार्यालय, स्थानीय प्रतिनिधि तथा बुढानीलकण्ठ नगरपालिका–११ का वडाध्यक्षलगायतको रोहबरमा हतियार नष्ट गरिएको जानकारी दिनुभयो ।
प्रहरी केन्द्रीय विशेष कार्यदल कपन परिसरमा हातहतियार, खरखजाना एवं विस्फोटक पदार्थ व्यवस्थापन निर्देशिका, २०६९ को दफा ८ (३) बमोजिम नष्ट गरिएको प्रहरी मुख्यालयले जनाएको छ । नष्ट गरिएका हतियारमा फलामलाई पत्रु बनाई व्यवस्थापन गर्न कार्यदललाई जिम्मा लगाइएको छ ।
उक्त हातहतियारहरू दीर्घकालीन व्यवस्थापन गर्न गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीको अध्यक्षतामा प्राविधिक टोलीले गठन गरेको थियो ।