• १६ असार २०८१, आइतबार

गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा

blog

हलेसी तुवाचुङ नगरपालिकाको एम्बुलेन्स उद्घाटन गर्दै जिसस प्रमुख सनबहादुर राई, मेयर विमला राई र उपमेयर रमेशकुमार राउत

राजकुमार भट्टराई 

खोटाङ, जेठ २८ गते । खोटाङ हलेसी तुवाचुङ नगरपालिकाले गर्भवती महिलाहरूको लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । नगरपालिकाले सञ्चालन गरेको एम्बुलेन्सबाट गर्भवती तथा सुत्केरी महिला र बेवारिसे व्यक्तिले निःशुल्क सेवा लिन पाउने छन् भने अन्य व्यक्तिको लागि सुलभ मूल्यमा एम्बुलेन्स उपलब्ध हुनेछ । 

केही दिनअघि नगरपालिका आइपुगेको एम्बुलेन्स भाडादर कायम गरेर औपचारिक कार्यक्रमकासाथ शनिबारबाट सञ्चालन गर्न सुरु गरिएको हो । जिपिएस ट्रयाकिङ सिस्टम जडान गरिएको आवश्यक उपकरण र औषधिसहितको ‘ख’ वर्गको एम्बुलेन्स सञ्चालन भएसँगै स्थानीय खुसी भएका छन् । यसअघि नगरपालिकामा कुनै पनि एम्बुलेन्स थिएन। बिरामी हुँदा नागरिकले महँगो भाडा तिरेर गाडी प्रयोग गरिरहेका थिए । 

लामो समयको प्रयासपछि एम्बुलेन्स ल्याउन सफल भएको मेयर विमला राईले बताउनुभयो । नागरिकको आवश्यकतालाई मध्यनजर गरेर एम्बुलेन्स सेवा सुरु गरिएको उहाँको भनाइ छ । 

यसैबीच, स्वास्थ्य बीमा गरेकाहरूले अब हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमबाट पनि सेवा लिन पाउने भएका छन् । नेपाल सरकारको मापदण्ड अनुसार बीमा गरेका व्यक्तिहरूलाई नगर अस्पताल दुर्छिमबाट सेवा दिने गरी सुरु गरिएको हो ।

एक परिवारले ३५ सैयामा स्वास्थ्य बीमा गरेर एक वर्षसम्म एक लाख बराबरको उपचार सेवा लिन पाउने व्यवस्था छ । यस अघि हलेसी तुवाचुङ नगरपालिकाका नागरिक उक्त सेवा लिन जिल्ला अस्पताल दिक्तेल, छिमेकी जिल्ला ओखलढुङ्गासँगै अन्यन्त्र जिल्ला जानु पर्ने बाध्यता थियो । 

नगरपालिकाको जोड बलले दुर्छिमबाट स्वास्थ्य बीमा गरेकाहरूलाई मापदण्ड अनुसारको निःशुल्क सेवा प्रदान गर्न सुरु गरिएको मेयर विमला राईले बताउनुभयो । नगर अस्पताल दुर्छिमबाट प्रथम सेवा विन्दुको कार्यक्रम सुरु भएसँगै नागरिकले घरआँगनमै सेवा लिन पाउँदा हर्षित भएका छन् । चालु आर्थिक वर्षमा नगरपालिकाले एक सय २० जनाको निःशुल्क स्वास्थ्य बीमासमेत गरिदिएको छ । वुबाआमा गुमाएका बालबालिका र विधुर पुरुषहरूको निःशुल्क बीमा गरिदिएको नगरपालिकाले जनाएको छ । 

एकल पुरुष, एकल महिला, अपाङ्गता भएका व्यक्ति लगायतहरुको निःशुल्क बीमा गरिदिने प्रावधान नगरपालिकाको रहेको मेयर राईले बताउनुभयो ।