• ६ पुस २०८२, आइतबार

गृहमन्त्री अर्यालद्वारा सानोठिमीस्थित बाल सुधार गृहको निरीक्षण

blog

आइतबार भक्तपुरको सानोठिमीमा रहेको बाल सुधार गृहको निरीक्षण गर्नु हुँदै गृहमन्त्री ओमप्रकाश अर्याल।

 काठमाडौँ, पुस ६ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार भक्तपुरको सानोठिमीमा रहेको बाल सुधार गृहको निरीक्षण गर्नु भएको छ। हिजो मात्रै नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको निरीक्षण गर्न पुग्नु भएका गृहमन्त्री अर्यालले भक्तपुरमा रहेको बाल सुधार गृहको अवलोकनका साथै समग्र त्यहाँको वस्तुस्थितबारे जानकारी लिनु भएको गृहमन्त्री अर्यालको निजी सचिवालयले जनाएको छ।  

निरीक्षणका दौरान मन्त्री अर्यालले त्यहाँ रहेको बाल बन्दीको कक्षा कोठा, उनीहरूको दैनिक जीवनयापन र खानपान र बस्ने व्यवस्थाबारे सुधार गृहका अधिकारीसँग जानकारी लिनु भएको थियो। 

यस्तै मन्त्री अर्यालले त्यहाँ रहेका १८ वर्षमाथि पुगेका बालबिझ्याईकर्ता तर उनीहरूको समयावधि नपुगेकाले बालबन्दी राख्दा आइपरेका समस्याबारे पनि बुझ्नु भएको सचिवालयले जनाएको छ। भक्तपुरको बाल सुधार गृह यूसेफ नेपाल अन्तर्गत चलिरहेको छ।  

‘निशान छाप’ का निर्माणकर्ता गौतमलाई भेट्न उहाँको निवासमा  यस्तै आजै मन्त्री अर्यालले नेपाल सरकारको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको ‘निशान छाप’ चिह्नको निर्माण गर्नु भएका तथा हाल अस्वस्थ रहनु भएका हिमालय गौतमलाई उहाँकै निवास ललितपुरको इमाडोल पुगेर भेट गर्नु भएको छ।  

भेटमा मन्त्री अर्यालले गौतमको परिवारसँग कुराकानी गर्दै गौतमको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको थियो।