• ७ मंसिर २०८१, शुक्रबार

दुम्कौलीको तापक्रम ४४ डिग्री : अर्को वर्ष अझ तापक्रम बढ्ने वैज्ञानिकको प्रक्षेपण

blog

काठमाडौं,जेठ २८ गते । अहिले देशभरको तापक्रम बढ्ने क्रम जारी छ । विशेष गरी तराई क्षेत्रमा तापक्रमले नयाँ रेकडै कायम गर्दै आएको  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार नवलपुरको दुम्कौलीमा सबैभन्दा बढी तापक्रम मापन गरिएको छ । 

विभागका अनुसार नवलपरासी जिल्लाको दुम्कौलीको तापक्रम ४४ डिग्री सेल्सियस पुगिसकेको छ । जेठ २६ गते मापन गरिएको यो तापक्रम हालसम्मकै उच्च रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाइसकेको छ । 

आगामी वर्ष सन् २०२४ मा तापक्रम अझै बढ्ने मौसमविद्ले जनाएका छन् । अमेरिकनकाे राष्ट्रिय महासागरीय तथा वायुमण्डलीय (एनओएए) वैज्ञानिकहरूले जलवायु परिवर्तन आउन लागेको जनाएका हुन । उनीहरूका अनुसार आगामी वर्ष तापक्रम सबैभन्दा बढी हुने जनाएको छ । 

एनओएए का वैज्ञानिकहरूका अनुसार आगामी वर्ष प्रशान्त महासागरमा एलनिनो देखापर्ने छ । यसले चरम मौसम र उच्च तापक्रमको अवस्था ल्याउने  छ । 

प्रशान्त महासागरमा एल नीनोको निर्माण भएकाले आगामी वर्षको तापक्रम पनि बढ्ने वैज्ञानिकले जनाएका हुन । सामान्यतया एलनिनो देखापर्दा दक्षिण एसियामा कम पानी पर्ने सम्भावना रहन्छ । कुनै क्षेत्रमा पानी पर्ने त कुनै क्षेत्रमा पानी नै नपरेर खण्डवृष्टिको अवस्था सिर्जना हुने पनि छ । 

के हो एलनिनो ?

प्रशान्त महासागरको तापक्रम त्यसमाथिको वायुमण्डलको तापक्रमभन्दा  १.५ डिग्री बढी भएको अवस्थामा एल निनो निर्माण हुने गर्दछ । यस अवस्थामा वायुको नियमित प्रणाली खलबलिँदा यसको समस्या देखा पर्दछ । 

प्रशान्त महासागरमा एलनिनो देखापर्दा दक्षिणी एसियामा कम पानी पर्ने हुन्छ । एलनिनोको अनुगमन प्रत्येक वर्षको डिसेम्बरदेखि तीन महिनासम्म प्रशान्त महासागरको पानीको तापक्रम अनुगमन गर्ने गरेर पत्ता लगाइन्छ । 

.समुद्रको तापक्रम सामान्यतया २३/२४ डिग्री सेल्सियस हुन्छ । यदि यो तापक्रममा १.५ डिग्री बढी भएको खण्डमा एलनिनो हुने गर्दछ । यदि १.५ डिग्री तापक्रम कम भएको खण्डमा एलानीनो हुन्छ । 

मौसमविद् प्रतिभा मानन्धरका अनुसार प्रशान्त महासागरमा एलनिनो देखापर्ने बित्तिकै दक्षिणी एसिया महादेशमा सधैँ कम पानी पर्छ भन्ने अवस्था नहुने बताउनु हुन्छ । 

उहाँका अनुसार यस क्षेत्रमा पानी पर्ने प्रक्रियामा अन्य मनसुनी प्रणालीको पनि गतिविधि हुने भएकाले एलनिनो देखापर्ने बित्तिकै पानी कम पर्छ भन्ने सम्भावना हुँदैन ।

उहाँले भन्नुभयो, सामान्यतया प्रशान्त महासागरमा एलनिनो देखापर्दा विश्वभर कम पानी पर्ने आङ्कलन गरिएको हुन्छ । तर, दक्षिणी एसियाको हकमा भने अन्य मौसमी प्रणालीहरू पनि विकसित हुने भएका कारण एलनिनो देखिँदैमा कम पानी पर्छ भन्ने सोच्नु हुँदैन । 

विगतका वर्षमा पनि प्रशान्त महासागमा एल निनो देखापर्दा नेपाललगायत दक्षिण एसियामा मनसुनको समयमा पर्याप्त मात्रामा पानी परेकाले एलनिनो देखा पर्दा पानी नै पर्दैन भन्न नसकिने उहाँको भनाइ छ । 

उहाँका अनुसार एलनिनोको ठीक उल्टो प्रक्रिया लानिनो हो  । यदि प्रशान्त महासागरमा लानिनो भएको खण्डमा दक्षिण एसियालगायत विश्वमा बढी पानी पर्ने प्रक्षेपण गरिन्छ । 

यदि प्रशान्त महासागरको पानीको तापक्रम त्यसमाथि हुने वायुमण्डलको तापक्रमभन्दा कम भएको अवस्थामा लानिनो हुन्छ । यदि लानिनो बनेको अवस्थामा दक्षिण एसियामा बढी पानी पर्ने हुन्छ । गत वर्ष नेपालमा लानिनोकै प्रभावका कारण बढी पानी परेको थियो, जसका कारण बाढी तथा भू–क्षय भएको थियो । 

मौसमविद् मानन्धरका अनुसार पाँच देखि सात वर्षको अन्तरमा एलनिनो देखा पर्ने हुन्छ । सात वर्षको अन्तरमा प्रशान्त महासागरमा पानीको तापक्रम १.५ डिग्री सेल्सियस बढ्ने गरेको छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।