• ९ पुस २०८१, मङ्गलबार

प्रतिनिधि सभामा एमालेको विरोध

blog

तस्बिर : केशब गुरुङ

काठमाडौँ,  जेठ २६ गते । प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले विरोध जनाएको छ । एमालेले पार्टीका केन्द्रीय सदस्य एवं कोशी प्रदेश सभाका संसदीय दलका उपनेता राम रानामाथि बिहीबार इलाममा आक्रमण भएको घटनालाई लिएर विरोध जनाएको हो । 

आजको बैठक प्रारम्भ भएलगत्तै एमालेका सांसद आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सांसद योगेशकुमार भट्टराईलाई समय दिनुभएको थियो । सांसद भट्टराईले २०७९ फागुन १७ गते प्रदेशसभाबाट दुई तिहाइभन्दा बढी मतबाट कोशी प्रदेशको नामकरण भएको सन्दर्भमा असहमति भए पनि लोकतान्त्रिक विधिबाट भएको निर्णयलाई पालना गर्नुका साटो पटक-पटक अवाञ्छित घटना हुन थालेको बताउनुभयो । 

उहाँले प्रदेशको नामकरण भएको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई झापामा ढुङ्गामुढा गर्ने, एम्बुस थाप्ने र अवरोध सिर्जना गर्नेजस्ता कार्य भएको स्मरण गराउनुभयो ।

उहाँले उदयपुरमा कोशी प्रदेशका उप-सभामुख सिर्जना दनुवारको गाडीमाथि हमला भएको घटना पनि स्मरण गराउनुभयो । साथै प्रदेशको नामकरण सम्बन्धमा विराटनगरमा निधन भएका एक प्रदर्शनकारीको निधनको घटनाबारे पनि गृहमन्त्रीको जवाफ माग गर्नुभयो ।   

उक्त प्रश्नका सन्दर्भमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिनुभएको थियो । रासस