• १७ पुस २०८२, बिहिबार

सुरक्षाको उचित व्यवस्थापनपछि मात्र निर्वाचन : मुख्यमन्त्री बाँनिया

blog

प्रथम जलवायु सम्मेलनस्थल गुफाडाँडा । तस्बिरः विदुर आचार्य

विदुर आचार्य

चौतारा, पुस १७ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बाँनियाले नेपाल सरकारले सुरक्षाको उचित व्यवस्था नगरेसम्म तोकिएको समयमा निर्वाचन हुन कठिन हुने बताउनुभएको छ । 

सरकारले विश्वासको वातावरण सिर्जना गर्दै जिम्मेवार भएर अघि बढ्नु पर्नेमा उहाँको भनाइ छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा ९ गुफाडाँडामा आयोजित जलवायु सम्मेलन २०८२ का अवसरमा मुख्यमन्त्री बाँनियाले अफवाह फैलाउने र अराजक गतिविधि गर्ने समूहका कारण देश अनिर्णयको बन्दी बन्न पुगेको टिप्पणी गर्नुभयो ।

उहाँले काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहलाई लक्षित गर्दै फैलाइएका अफवाह र सिंहदरबार जलाउनेजस्ता अभिव्यक्तिहरूले लोकतान्त्रिक प्रक्रिया कमजोर बनाएको आरोप लगाउनुभयो । सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति तय गरेको भए पनि सुरक्षा चुनौती समाधान नगरी निर्वाचन सम्भव नहुने उहाँको भनाइ छ । 

मुख्यमन्त्री बाँनियाले जलवायु परिवर्तनका कारण प्राकृतिक विपत्तिहरू बढ्दै गएको उल्लेख गर्दै यसलाई साझा चुनौतीका रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले मेलम्ची–गुफाडाँडा हुँदै पाँचपोखरी जाने सडक निर्माणका लागि प्रदेश सरकारले आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । 

विकासलाई भोटसँग तुलना गर्न नहुने बताउँदै मुख्यमन्त्री बाँनियाले भन्नुभयो, ‘भोटसँग विकास होइन, विकाससँग भोट आफैं आउँछ ।’ त्यसैले नेताहरूले आफ्नो सोच र व्यवहार सुधार्नु पर्ने आवश्यक रहेको उहाँको तर्क छ । 

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले गुफाडाँडालाई चिया बगानसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास गरी हिमाल अवलोकन गर्न सकिने स्थल बनाउनुपर्ने बताउनुभयो ।  उहाँले  २०७५ मा तत्कालीन जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङको पहलमा सुरु गरिएको ‘गुफाडाँडा दिवस’ को निरन्तरताका रूपमा यस वर्ष पनि कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । 

उक्त दिवस तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्नुभएको थियो । कार्यक्रममा सहभागी जलवायु विज्ञहरूले जलवायु परिवर्तनको उतार–चढावबारे गम्भीर विमर्श गर्ने समय आएको औंल्याउँदै भविष्यमा जलवायु संरक्षणका लागि साझा धारणा र एकीकृत कार्यक्रम आवश्यक रहेको बताउनुभयो । 

वक्ताहरूले जलवायु परिवर्तन विश्वव्यापी विषय बनेको र नेपाल वातावरणीय मुद्दामा पक्षराष्ट्रका रूपमा सक्रिय रहेको उल्लेख गर्दै मानिसको जीवनशैली वातावरणमैत्री हुनुपर्नेमा जोड दिएका छन् । गुफाडाँडालाई विपद्को समयमा सुरक्षित स्थान र पर्यटकीय दृष्टिले सम्भावनायुक्त क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ ।