• २१ वैशाख २०८३, सोमबार

दशकअघि खनिएको कृषि सडक अलपत्र

blog

अमरगढी नगरपालिका–१, दगोडा बस्तीमा निर्माणपछि अलपत्र अवस्थामा रहेको कृषि सडक । तस्बिर : पुष्कर भण्डारी

अमरगढी समाचारदाता

डडेलधुरा, वैशाख २१ गते । जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–१, मालमगाउँलाई स्याउले चोकसँग जोड्ने कृषि सडक निर्माण योजना अलपत्र परेको छ । 

व्यावसायिक रूपमा कृषि काम गर्दै आएका किसानको अन्न बजारसम्म पु¥याउन एक दशकअघि स्याउले–दगोडा–मालम सडक खनिएको थियो । २०७० सालमै दगोडा र मालमगाउँलाई स्याउले चोकसँग जोड्ने गरेर कृषि सडकको योजना अघि बढाएर केही सडक खनिएको थियो । दगोडा बस्तीमुनिसम्म सडक खनिए पनि यो सडक मालकगाउँसम्म पुगाउन नसक्दा अलपत्र अवस्थामा रहेको छ । 

एक पटक खनिएको सडकको मर्मतसम्भार नगरिँदा गाडी चल्न सक्ने अवस्था छैन । स्थानीय प्रेमबहादुर दियालले भन्नुभयो, “सडक मर्मतका लागि वडाध्यक्षलाई बारम्बार खबर गरेको एक दशक हुँदा पनि काम भएको छैन ।” उहाँका अनुसार यो सडक खण्डको दुरी करिब एक किलोमिटर छ । अहिले ठाउँ ठाउँमा पहिरोले भत्किएको छ । भत्किएको ठाउँमा पर्खाल लगाउन र बाह्रै महिना सञ्चालन गर्न सडक सफाइका लागि वडाध्यक्षसँग अनुरोध गर्दागर्दै काम नभएको उहाँको गुनासो छ । 

सुरुमा दुई/तीन पटक अमरगढी नगरपालिकाको बजेटले सडकको ट्र्याक खोलिएको थियो । उहाँले भन्नुभयो, ‘त्यसयता सडक सफाइ र मर्मत गर्न बजेट हालिएको छैन ।” मालमगाउँका दुई दर्जनभन्दा बढी घरपरिवार दगोडा क्षेत्रमा सरेर व्यावसायिक रूपमा तरकारी र फलफूल खेती गर्दै आइरहेको उहाँले बताउनुभयो । यो सडक सञ्चालनमा आउन नसक्दा एक घण्टासम्म कृषिउपजका भारी बोकेर उकालो बाटो हुँदै स्याउले बजार पुग्नुपर्ने बाध्यता किसानको भएको उहाँको भनाइ छ । दियालले आफ्नो बारीमा एक सयभन्दा बढी सुन्तला, कागती र पुलमका बिरुवा हुर्काइरहनुभएको छ । 

सडक सञ्चालनमा आउन नसक्दा फलफूल र तरकारीले उचित मूल्य नै नपाउने दुःखेसो उहाँको छ । घरमै खरिद गर्न आउनेले भरियाबाट बोकाउनुपर्ने भएकाले भारीको ज्याला घटाई खरिद गर्दा उत्पादित फलफूल र तरकारीले उचित मूल्य नपाउँदा आफूलगायत सबै किसानले मर्का खेप्नु परिरहेको उहाँको भनाइ छ ।

स्याउले बजार चोक सुदूरपश्चिमका सात पहाडी जिल्लालाई जोड्ने एक मात्रै मुख्य राजमार्ग भीमदत्त राजमार्गमा पर्छ । डडेलधुराको बागबजारदेखि पूर्वतर्फ तीन किलोमिटरको दुरीमा रहेको स्याउले बजार चोकबाट पूर्वतर्फ डोटी, अछाम र बाजुरा जिल्ला जोड्ने डा. केआई सिंह राजमार्ग जोडिएको छ । उत्तरतर्फ बैतडी, दार्चुला र बझाङ जिल्ला राजमार्गसँग जोडिएको छ । स्याउले चोक भएर सुदूरपश्चिम सात पहाडी जिल्ला जोडिने भएकाले मौसम अनुसारका फलफूल र तरकारीको खरिदबिक्री राम्रै हुने गरेको कृषि ज्ञान केन्द्र डडेलधुराका कार्यालय प्रमुख नरेन्द्र पनेरूले बताउनुभयो । स्याउले बजारका पसलसँगै खोका छाप्रा र ठेलामा कृषिउपजको व्यापार गरेर स्थानीय स्वरोजगार बने पनि व्यवस्थित बजार बसाउन नसकिएको उहाँको भनाइ छ । 

कृषि सडकको स्तरोन्नति गरेर बजारलाई व्यवस्थित बनाउन सके यस क्षेत्रमा धेरै किसान र व्यापारीले राम्रो आम्दानी गर्न सक्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।